
बुटवल।
सुन्दा पनि अचम लाग्ने तर व्यवहारमा देखिएपछि मान्नै पर्ने घटना सार्वजनिक भएको छ बुटवलमा ।
विज्ञान प्रविधिले युक्त वर्तमान समाजमा पनि मानिसको जीवनसँग खेलबाड गदै विना दर्ता मेडिकलहरु सञ्चालन भएको रहस्य बुटवलमा बिहीबार गरिएको अनुगमनका क्रममा फेला परेका छन् ।
अनुगमन टोलीले विना दर्ता सञ्चालनमा रहेका ६ वटा मेडिकल क्लिनिकहरुलाई टोलीले बन्द गराएको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अनुगमन टोलीले बुटवलका विभिन्न ११ वटा मेडिकल तथा क्लिनिकहरुमा अनुगमन गर्दा ६ वटा क्लिनिकहरु दर्ता विना नै सञ्चालन गरेको भेटिएपछि बन्द गराएको हो ।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले जनताको गुनासो आएपछि क्लिनिकहरु अनुगमन गरिएको दर्ता विनाका ६ वटा क्लिनिक लाई बन्द गराइएको बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी रानाले वर्षौँदेखि अस्पताल लाइनमा सञ्चालित शिला मेडिकल हल, वरदान क्लिनिक, चन्दन फार्मेसीले सञ्चालन गरेको ल्याब, पुनम मेडिकल हल, मङ्गलमय स्वास्थ्य क्लिनिक र रुचिका हेल्थ क्लिनिकलाई बन्द गरिदिएको हो।
मानिसको स्वास्थ्यसँग खेलबाड गरी वर्षौँदेखि दर्ता बिनै सञ्चालन गरिएका क्लिनिक र ल्याबहरूलाई बन्द गरिएको हो,’ रानाले भने। शिला मेडिकल हल र पुनम मेडिकल हलले औषधी विक्रीको लागि फार्मेसी सञ्चालनको अनुमति लिए पनि चिकित्सक राखेर बिरामीको चेकजाँच गर्ने क्लिनिक समेत सञ्चालन गरेको पाइएपछि क्लिनिक बन्द गरिएको रानाले जानकारी दिए ।
त्यस्तै रुचिका हेल्थ क्लिनिक र वरदान क्लिनिकले दर्ता नगरी ल्याब समेत सञ्चालन गरेकोले क्लिनिक र ल्याब दुवै बन्द गरिएको छ। चन्दन फार्मेसीको पनि ल्याब बन्द गरिएको छ। चन्दनले फार्मेसी सञ्चालनको अनुमति लिए पनि ल्याब समेत सञ्चालन गर्दै आएको थियो। मङ्गलमय स्वास्थ्य क्लिनिक पनि अनुमति नलिई सञ्चालन भएको पाइएपछि बन्द गरिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी रानाका अनुसार करिस्मा पोलिटेक्निकल र राजधानी फार्मेसीले सञ्चालनको लागि अनुमति लिएको भए पनि व्यवस्थित नभएकोले दुबैलाई व्यवस्थित गर्न निर्देशन दिइएको छ।सहायक प्रमुख जिल्ला अधिकारी रानाले पहिलो दिन बुटवलका सीमित मेडिकल क्लिनिक र ल्याबहरूमा अनुगमन गरिएको र आगामी दिनमा स्वास्थ्य क्षेत्रको अनुगमनलाई निरन्तरता दिने बताए ।
स्वास्थ्य कार्यालय रुपन्देहीका ल्याब टेक्नेसियन अधिकृत खिमलाल पाण्डेले जिल्लामा ५०० भन्दा बढी मेडिकल क्लिनिकहरू रहेको जानकारी दिँदै अनुगमनलाई थप तीव्रता दिने तयारी भइरहेको छ । बन्द गरिएका क्लिनिकहरूलाई दर्ता प्रमाणपत्र प्राप्त गरेपछि मात्र पुनः सञ्चालनको अनुमति दिइने जनाइएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।