
काठमाडौँ।
पर्सा वीरगन्ज महानगरपालिका–१६ स्थित भन्सार चेकजाँच बिन्दुबाट शुक्रबार सशस्त्र प्रहरीले १८ लाख नेपाली रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।पक्राउ पर्नेमा सोही महानगरपालिका–२ छप्कैया बस्ने २१ वर्षीय राहुल कुमार तिवारी र बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ बस्ने ४० वर्षीय कौशल कुमार गुप्ता छन् ।
भारतबाट दुई वटा मोटरसाईकलमा नेपालतर्फ आउँदै गरेका उनीहरुलाई विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको सुरक्षा फौजले जाँच गर्दा उनीहरुको साथमा फेला परेको उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको हो ।
नियन्त्रमा लिईएकामध्ये बीआर ०५ एटी ०४७५ नम्बरको मोटरसाईकलमा सवार राहुल कुमार तिवारीको साथमा १३ लाख नेपाली रुपैयाँ र ना ४६ प ९७१० नम्बरको मोटरसाईकलमा सवार कौशल कुमार गुप्ताको साथमा ५ लाख नेपाली रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।
बरामद रुपैयाँमा १ हजार दरको १ हजार ८२ वटा र पाँच दरको १ हजार ४ सय ३६ नोट रहेको छ । उनीहरुले उल्लेखित रुपैयाँ के प्रयोजनको लागि लिईएको हो खुलेको छैन ।
नियन्त्रणमा लिईएका दुवै जनालाई बरामद रुपैयाँ तथा मोटरसाईकलसहित आवश्यक अनुसन्धानको लागि वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।