काठमाडौं ।
काठमाडौँ महानगरपालिकाले आगामी वर्षायामलाई मध्यनजर गर्दै आफ्नो क्षेत्रभित्र तीन महिनाका लागि सडक तथा फुटपाथ खन्न पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको छ । एक सूचना जारी गर्दै २०८२ साल असार १ गतेदेखि भदौ मसान्तसम्म कुनै पनि निकायलाई सडक खन्ने स्वीकृति वा सहमति नदिइने निर्णय गरेको हो ।

मनसुनको समयमा सडक खन्दा हिलो, खाल्डाखुल्डी र पानी जम्ने जस्ता समस्याले सर्वसाधारणलाई सास्ती हुने तथा दुर्घटनाको जोखिम बढ्ने भएकाले यस्तो निर्णय गरेको हो । वर्षायाममा खनिएका सडकहरू समयमै मर्मत गर्न नसकिने र निर्माण कार्य पनि गुणस्तरहीन हुने हुँदा महानगरले यो कदम चालेको हो।
विगतमा विभिन्न निकायहरूबिच समन्वयको अभावमा जथाभाबी सडक खन्ने र समयमै नपुर्ने प्रवृत्तिका कारण काठमाडौँका सडकहरू बर्सेनि अस्तव्यस्त बन्ने गरेका छन्। महानगरको यो पूर्वतयारी निर्णयले वर्षायाममा हुने ट्राफिक जाम, दुर्घटना र अन्य सास्तीलाई न्यूनीकरण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।