
काठमाडौं ।
नेपाल ट्रस्टको उद्देश्यअनुरूप हजारौं रोपनी जग्गाहरू सार्वजनिक हितमा प्रयोग नगरिएको पाइएको छ ।
महालेखा परीक्षकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको नेपाल ट्रस्ट कार्यालयलाई त्यस्ता अचल सम्पत्तिको उचित संरक्षण गरी सार्वजनिक हितका लागि प्रयोगमा ल्याउन ध्यानाकर्षण गराएको छ ।
ट्रस्टको नाममा जग्गाधनी प्रमाणपुर्जा प्राप्त भएको काठमाडौंको मातातीर्थ, थानकोट, सतुङ्गल तथा इचंगुमा रहेको १ सय ७२ रोपनी १५ आना जग्गा मोही तथा निजको हकवालाको नाममा नामसारी भएको पाइएको छ । त्यसै गरी बालाजु, स्वयम्भू, शेषनारायण, थानकोटलगायत ११ स्थानमा रहेको ४ सय ४ रोपनी ६ आना जग्गामा हालसम्म पनि मोहीहरूले खेती गरिरहेको तथा एक निजी विद्यालय सञ्चालनमा रहेको महालेखाले जनाएको छ ।
नेपाल ट्रस्ट ऐन, २०६४ को दफा ७ मा ट्रस्टको सम्पत्तिको समुचित व्यवस्थापन गरी यसको सम्भार र संरक्षण गर्नुपर्ने उल्लेख गरिएको छ । त्यसै गरी दफा ११ मा प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि ट्रस्टको स्वामित्वमा रहेको अचल सम्पत्ति कुनै व्यक्ति विशेष वा संस्थापकको नाममा दर्ता हुन नसक्ने उल्लेख छ । ऐनको व्यवस्थाविपरीत ट्रस्टको सम्पत्ति मोहीको नाममा दर्ता भएकोमा उक्त जग्गा छानबिन गरी ट्रस्टको नाममा स्वामित्व हस्तान्तरण गर्न प्रतिवदेनमार्फत ध्यानाकर्षण गराउँदै आएको महालेखा परीक्षक तोयम रायाले बताउनुभयो ।
महालेखाको परीक्षकको ३२औं प्रतिवेदनले कार्यालयअन्तर्गतको संरक्षणविहीन रहेका जग्गाको विस्तृत विवरणसहित त्यसको संरक्षणमा सरकार गम्भीर बन्नुपर्ने खाँचोसमेत औंल्याएको छ ।धादिङको धुनीबेंसी नगरपालिका साविकको छत्रेदेउराली गाविस–८ स्थित १५ हजार १ सय १ रोपनी ११ आना २ पैसा १ दाममध्ये ललितपुरको गोदावरी नगरपालिका, गोदामचौरस्थित ८ सय १० रोपनी ३ आना, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपालस्थित २७ रोपनी १३ आना १ पैसा १ दामको संरक्षण नगरेको पनि औंल्याइएको छ ।
काठमाडौं महागरपालिका–१६ बालाजु बाइपास क्षेत्रको १ सय २२ रोपनी १० आना १ पैसा ३ दामलगायत विभिन्न ८ स्थानका १५ हजार ५ सय २ रोपनी २ आना ३ दशमलव ८४ दामभन्दा बढीको जग्गाको सीमाङ्कन र संरक्षणसम्बन्धी कार्य नगरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।ट्रस्टको नाममा रहेका भरतपुर महानगरपालिका वडा नं. १ स्थित दियालो बंगलाको ८० रोपनी ३ आना ३ पैसा १ दशमलव ९३ दाम, भक्तपुर नगरपालिका सल्लाघारीस्थित १ सय ८ रोपनी २ आना १ पैसा, गोकर्णस्थित १ हजार १ सय ७४ रोपनी २ आना ३ पैसा ३ दाम जग्गा उचित रूपमा सदुपयोग गर्न पनि महालेखाले सुझाव दिएको छ ।
त्यसै गरी हेटौंडा उप–महानगरपालिका वडा नं. १० स्थित कान्ति ईश्वरी गृहको २६ रोपनी १० आना –३ दशमलव ४९ दामलगायत विभिन्न ११ स्थानका १ हजार ६ सय १९ रोपनी ४ आना २ पैसा २ दशमलव ७३ दाम बढी जग्गाजमिन तथा भवनहरू ऐनको व्यवस्थाअनुरूप उपयोग गर्न महालेखाले भनेको छ ।तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य र उहाँहरूको परिवारको देहावसान हुँदाका बखत निजहरूको नाममा रहेको र हक पुग्ने सम्पत्तिलाई ट्रस्ट बनाई त्यस्तो सम्पत्तिको व्यवस्थापन गरी राष्ट्रहितमा प्रयोग गर्न सो ट्रस्टको स्थापना भएको थियो ।
नेपाल ट्रस्ट ऐन २०६४ को दफा ५ तथा नेपाल ट्रस्ट नियमावली, २०६५ को नियम ३ मा ट्रस्टको सम्पत्ति विद्यालय, महाविद्यालय वा विश्वविद्यालयजस्ता शैक्षिक तथा प्राज्ञिक संस्थाहरू खडा गरी सञ्चालन गर्न गरिसक्ने प्रावधान रहेको छ । त्यस किसिमको सञ्चालनका लागि अनुदान प्रदान गर्न सक्ने पनि त्यससम्बन्धी ऐनले भनेको छ । राष्ट्रिय हितअनुकूल र ट्रस्टलाई फाइदा हुने गरी पर्यटकीय र व्यावसायिक कार्य सञ्चालन गर्न र अस्पताल वा स्वास्थ्य चौकीजस्ता सार्वजनिक प्रयोजनका राष्ट्रहितका कार्यमा प्रयोग गर्नुपर्ने व्यवस्था छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।