
काठमाडौं ।
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, पर्साका आठौं तहका अधिकृत कमलराज गौतमले गैरकानुनी रूपमा २ करोड ५१ लाख रुपियाँभन्दा धेरै रकम आर्जन गरेको पाइएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौतममाथि छानबिन गर्दा गैरकानुनी रूपमा २ करोड ५१ लाख रुपियाँ आर्जन गरेको पाइएपछि उहाँविरुद्ध मंगलवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले गौतमले सार्वजनिक पद धारण गरेपछि पदको दुरुपयोग गरी वैधानिक आम्दानी स्रोतभन्दा बढी सम्पत्ति आर्जन गरेको पुष्टि भएको जनाएको छ ।आयोगका अनुसार, २०५५ साल वैशाख ७ गतेदेखि २०७९ साल चैत २४ गतेसम्मको अवधिमा गौतमको वैधानिक रूपमा २ करोड ८९ लाख २० हजार २६८ रुपियाँ १८ पैसामात्र आम्दानी देखिएको छ ।
तर, सोही अवधिमा गौतम र उहाँका परिवारका नाममा भएको सम्पत्ति खर्च तथा लगानीको कूल रकम ५ करोड ४० लाख ९८ हजार ९५५ रुपियाँ ८९ पैसा रहेको देखिएपछि उनले अवैध रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि भएको अख्तियारले जनाएको छ । यसरी आम्दानी र व्ययबीचको अन्तर २ करोड ५१ लाख ७८ हजार ६८७ रुपियाँ ७१ पैसा पुगेको हुँदा उनीमाथि स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गरिएको आयोगको भनाइ छ ।
अख्तियारले गौतमलाई प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को विभिन्न दफाबमोजिम कैद र जरिवानासहित गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिनुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।