
काठमाडौं ।
धादिङको उत्तरी भेगका सडकहरू बर्खा लागेसँगै जोखिममा परेका छन्। दामन–पाख्रीन मार्गअन्तर्गतको साङ्कोस–तिप्लिङ सडक अवरुद्ध भएपछि रुवीभ्याली, खनियाबास र गंगाजमुना गाउँपालिकाका बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्।
खनियाबास–३ किम्ताङफेदी खोलामा अघिल्लो वर्षको बाढीले सडक बगाएपछि सवारीसाधनहरू खोला तरेर आवतजावत गर्दै आएका थिए। तर हाल खोलाको बहाव बढेसँगै खनियाबास–४ राउते गाउँ हुँदै करिब १ घण्टा लामो र जोखिमपूर्ण बाटो प्रयोग गर्नुपरेको छ।
यस्तै, रुवीभ्याली–४ लिस्ने खोलाको उकालो सडक र खनियाबास–४ धार्ना खोलामा पनि पहिरो खस्ने खतरा बढेको छ। स्थानीयले संघ, प्रदेश र स्थानीय सरकारसँग दीर्घकालीन समाधानको माग गर्दै आएका छन् तर सुनुवाइ हुन सकेको छैन।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।