
काठमाडौं ।
काठमाडौं त्रिभुवन विश्वविद्यालयको २१औं उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त हुनुभएको छ । चुनौतीको पहाडका बीच उपकुलपति नियुक्त हुनुभएका अर्याल लामो समयदेखि त्रिविको जल तथा मौसम केन्द्रीय विभाग पूर्वप्रमुखको हुनुहुन्थ्यो ।
उहाँ ३ महिने उपकुलपति प्राडा खड्ग केसीको कार्यकाल सकिन ८ दिनअघि उपकुलपति नियुक्त हुनुभएको हो ।
विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अर्याललाई नियुक्त गर्नुभएको हो । शिक्षामन्त्री रघुजी पन्तको संयोजकत्वमा गठित तीन सदस्यीय सिफारिस समितिले उहाँलाई नियुक्ति गर्नुभएको हो । उपकुलपतिको अन्तिम प्रतिस्पर्धामा तीन जना थिए ।
प्राडा विनिल अर्याल र प्राडा खड्ग केसीलाई पछि पार्दै अर्याल नियुक्त हुनुभएको हो । तीनजनाको नाममध्येबाट प्रधानमन्त्रीले जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख अर्याललाई उपकुलपति नियुक्त गर्नुभएको हो । २०५२ सालमा त्रिवि प्रवेश गरेका अर्याल चर्चित हास्यव्यङ्यकार एवं साहित्यकार स्व. भैरव अर्यालका जेठा छोरा हुनुहुन्छ । प्रतिस्पर्धाको आधारमा विश्वविद्यालयको उपकुलपति छनोट गर्ने दुई वर्षअघिको परम्परालाई तोड्दै कुलपति एवं प्रम ओलीले अर्याललाई उपकुलपति नियुक्त गर्नुभएको हो । प्रतिस्पर्धामा रहेका केसी र विनिल अर्याल पनि एमाले निकट हुनुहुन्छ ।
दुई वर्षअघि नियुक्त प्राडा केशरजंग बरालले काम गर्न नसकी गत चैत १६ गते राजीनामा दिएर बाहिरिएपछि विश्वविद्यालय नेतृत्वविहीन थियो । बराललाई फकाउन तत्कालीन रेक्टर प्राडा खड्ग केसी र रजिस्टार केदार रिजाल बराल निवास पोखरा पुग्नुभएको थियो । दुई पदाधिकारीले गरेको आग्रहसमेत अस्वीकार गरेपछि उपकुलपति रिक्त थियो ।
नवनियुक्त उपकुलपति अर्यालसामु मुख्य गरी आंशिक शिक्षकलाई करार र करारमा कार्यरतलाई स्थायी गर्ने चुनौती छ । कर्मचारीको माग पनि त्यस्तै छ । वर्षौंदेखि अस्थायी, करार र ज्यालादारीका कर्मचारी स्थायी गर्ने विषय पेचिलो बनेको छ । विशेष गरी विश्वविद्यालयमा देखिएको तालाबन्दी स्थायी रूपमा बन्द गर्नुपर्ने चुनौती उपकुलपतिलाई छ । उहाँसँग चुनौतीको पहाड पार गर्ने सुनौलो अवसर मिलेको छ ।
राजनीतिले पूर्णरूपमा गाँजेको त्रिविलाई कसरी मुक्त गर्ने भन्ने विषय मुख्य चुनौती छ । त्रिविको बिग्रिएको साख कसरी जोगाउने भन्ने विषयमा उहाँ गम्भीर हुनुपर्छ । त्रिविमा हाजिर गर्ने तर अर्कै कलेजमा पढाउने प्रवृत्ति रहेका ‘हेलमेट शिक्षक’लाई कसरी रोक्ने यो विषय उहाँका लागि चुनौती हो ।
समयसापेक्ष शुल्क समायोजन गर्ने, अनुगमनलाई तीव्रता दिने, त्रिविको सम्पत्तिको संरक्षण गर्ने, कक्षाकोठा र पुस्तकालय व्यवस्थापन, एकद्वार खाता प्रणालीको सुरुआत, आर्थिक पारदर्शीता, भद्दा संरचनालाई व्यवस्थापन गर्नु उहाँको लागि चुनौती छ ।
शैक्षिक क्यालेन्डर लागू गर्ने, पाठ्यक्रम परिमार्जन, विद्यार्थीलाई विदेशिनबाट रोक्नु उहाँको चुनौती हो । यस्ता चुनौती समाधान गर्न सके उपकुलपतिको साख जोगिन सक्छ । विश्वविद्यालयको अध्ययन अध्यापन तथा प्रशासनिक कार्यमा प्रविधिको प्रयोग बढाउनुपर्छ । जनशक्तिलाई प्रविधि प्रयोगमा सहभागी गराउनुपर्छ । वार्षिक बजेटको हाराहारीमा बेरुजु छ । त्यसलाई घटाउँदै लैजानुपर्ने उपकुलपतिको चुनौती छ ।
सेवा प्रवाहमा सुधार हुन नसक्नु, शिक्षक र कर्मचारीहरूको सेवासुविधामा एकरूपता, सरकारबाट आर्थिक स्रोतको सुनिश्चितता, भौतिक पूर्वाधार र सुविधाको विकास, संरक्षण र आधुनिकीकरण, सम्पत्ति संरक्षण आर्थिक अनुशासन कायम गर्नु उहाँको चुतौती हो । हिजो दिउँसो करिब साढे ४ बजे शपथ खानुभएका उहाँले हिजै पदबहाली गर्नुभएको थियो । उहाँलाई त्रिविका पदाधिकारी, महाशाखा, शाखा प्रमुख, शिक्षक सेवा आयोग, कर्मचारी संघ संगठनलगायतले स्वागत गरेका थिए ।
आज सिनेट
त्रिभुवन विश्वविद्यालयको सिनेट बैठक आज बिहीबार हुँदै छ । नवनियुक्त उपकुलपति दीपक अर्याललाई नियुक्ति र पद तथा गोपनीयताको शपथग्रहण गराएसँगैै सिनेट बैठक बस्न लागेको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । यसअघि अघिल्लो उपकुलपति प्राडा केसीले २२ गतेलाई बैठक बोलाउनुभएको थियो । दैनिक काम चलाउन उपकुलपतिले सिनेट बैठक डाक्न नहुने कानुनी प्रश्न उठेपछि कुलपति एवं प्रम ओलीले अघिल्लो दिन अर्थात् असार २१ गते बैठक स्थगित गर्न निर्देशन दिनुभएको थियो
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।