काठमाडौं।
नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसरमा कुलेश्वर आवास परिवार कल्याण संस्थाले विशेष कार्यक्रमको आयोजना गरी भव्यरूपमा भानु जयन्ती सम्पन्न गरेको छ।

भानुभक्तको प्रेरणादायी कविता वाचनबाट सुरुवात गरिएको कार्यक्रममा पत्रकार भगवती तिमल्सिनालाई सञ्चार क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप संस्थाले सम्मान गरेको छ।

यस्तै कार्यक्रममा प्रमुख अतिथि र विशेष अतिथिलाई समेत मायाको चिन्ह र खादा अर्पण गरिएको थियो भने कार्यक्रममा कविता वाचन गर्ने कविहरूमध्ये मथुरा सैजु, सरस्वती रिमाल, हरिप्रसाद खतिवडा, बुद्धिमान ढुङ्गाना, हरिभक्त बिष्ट, कृष्णकुमार बैद्य रहेका थिए। उनीहरूलाई खादा र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. व्रतराज आचार्य र विशेष अतिथि साहित्यकार मोहन दुवालले आदिकवि भानुभक्तको जीवनी, काव्यशैली र उनको योगदानमाथि चर्चा गरेका थिए। उनीहरूले आजको पुस्ताले भानुभक्तका कृतिहरूलाई गहिरो रूपमा अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रममा “एक म एक विषय” नामक साप्ताहिक जानकारीमूलक कार्यक्रममा बारे पनि जानकारी दिइयो। जसअन्तर्गत प्रत्येक बुधवार विभिन्न विषयमा ज्ञानवर्धक कार्यक्रमहरू आयोजना हुँदै आएको छ।

राजु दहालको अध्यक्षमा सम्पन्न कार्यक्रममा जेष्ठ नागरिक मिलन केन्द्रका संयोजक लोकनाथ पोखरेल, साहित्य कला संस्कृति समाजका संयोजक नीलहरी सुवेदी, उपाध्यक्ष उमा पोखरेल, डा. तेजरत्न तुलाधर, नवीनबहादुर श्रेष्ठ, भगवती तिमल्सिना, शारदा गौतमलगायतको विशेष उपस्थिति रहेको थियो। यस्तै जेष्ठ नागरिक र स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति कार्यक्रमको आकर्षण थप बनेको थियो।

संस्थाका उपाध्यक्ष राम बिनय (राम कुमार श्रेष्ठ) ले स्वागत मन्तव्य राख्दै कार्यक्रममा उपस्थित सबैप्रति आभार व्यक्त गर्दै कार्यक्रमको उद्देश्य स्पष्ट परेका थिए भने कार्यक्रमको सञ्चालन साहित्य कला संस्कृति समाजका सचिव कुशेस्वर जोशीलेगरेका थिए।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।