
–मिर्गाैला बिक्री गर्ने आपराधिक गिरोहको ठूलै जालो रहेको प्रहरी निष्कर्ष
–३ जना पक्राउ, अन्य दर्जनौंको खोजतलास जारी
–अन्य कैयांैको पनि मिर्गाैला बिक्री भएको आशंका
–भारतमा नै बसी सबै प्रबन्ध मिलाई मिर्गाैला निकाल्ने आपराधिक कार्य
काठमाडौं ।
मिर्गाैलाको अवैध कारोबारमा संलग्न गिरोहले नेपाल तथा भारतमा बसी संगठित र योजनाबद्ध रूपमा मिर्गाैला बिक्री गर्ने गरेको खुलासा भएको छ । त्यस्ता गिरोहको फन्दामा दर्जनौं नेपाली अवोध युवाहरू परेको पाइएको छ । नेपाल प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्युरोको अनुसन्धानका क्रममा नेपालमा मिर्गाैला तस्करी गर्नेको खतरनाक जालो रहेको पाइएको हो ।
सिन्धुलीका ३७ वर्षीय खिलबहादुर भुजेलको मिर्गाैला चोरी प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई फरकफरक स्थानबाट पक्राउ गरेपछि मिर्गाैला तस्करीको ठूलै गिरोह रहेको खुलासा भएको हो ।
मिर्गाैला तस्करीको आरोपमा पक्राउ पर्नेमा काभ्रेका कुमार भन्ने राजकुमार परियार, नुवाकोट वेलकोटगढीका समीर नेपाली र राजेश नेपाली रहेका प्रहरीले जनाएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले केही दिनको गोप्य अनुसन्धानपछि ती व्यक्तिहरूलाई पक्राउ गरेको हो ।
अनुसन्धानका क्रममा मिर्गाैलाको अवैध कारोबारमा संलग्न गिरोहले नेपाल तथा भारतमा बसी संगठित र योजनाबद्ध रूपमा मिर्गाैला बिक्री गर्ने गरेको तथ्यसमेत फेला परेको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिनुभयो । प्रहरी उपरीक्षक कुँवरका अनुसार अनुसन्धानका क्रममा मिर्गाैला तस्करहरूले भारतमा नै बसी आवश्यक सबै प्रबन्ध मिलाई मिर्गाैला निकाल्ने कार्य गर्दै आइरहेको पाइएको छ भने पीडितलाई आकर्षक रकमको प्रलोभन दिने गरेको पाइएको छ ।
प्रहरीले पीडितबाट झिकिएको मर्गिाैला चर्को मूल्यमा बिक्री गरी मानव अंगको गैरकानुनी व्यापार गर्ने गरेको पाइएको जनाएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार विभिन्न जिल्लाबाट अन्य दर्जनांै मानिसहरूको मिर्गाैलाको अवैध रूपमा बिक्री गरेको भन्ने सूचनाका आधारमा अन्य पीडितहरूको पहिचान गर्ने कार्य जारी रहेको छ ।
प्रहरीले यस वारदातमा संगठित अपराधमा समेत अनुसन्धान गरिएको र अपराधमा संलग्न अन्य अपराधीहरूको खोजतलास जारी रहेको बताएको छ ।प्रहरीका अनुसार सिन्धुलीको दुधौली नगरपालिका–१ का भुजेललाई रोजगारीको प्रलोभन देखाई भारत पु¥याएर मिर्गाैला निकालिएको अनुसन्धानबाट खुलेको छ ।
नेपालमा मिर्गाैला चोरीको घटना नयाँ होइन । सन् २००८ मा ‘काभ्रेको एउटा गाउँ नै किड्नी स्क्यान्डल’का रूपमा चर्चामा आएको प्रकरणमा सयौं नेपालीको मिर्गाैला बेचिएको तथ्य फेला परेको थियो । त्यसयता प्रहरीको निगरानी र कानुनी कडाइ बढे पनि गिरोहले नयाँ तरिकाले युवालाई फसाउने र मिर्गाैला बेच्ने कार्य रोकिएको छैन भन्ने यो एउटा आपराधिक उदाहरण हो ।
पछिल्लो समयमा भने मानव तस्करी र अङ्ग चोरीको स्वरूप फरक हुँदै गएको प्रहरी बताउँछ । पहिले गरिबी, अशिक्षा वा साक्षरता कम भएका वर्गलाई निशाना बनाइन्थ्यो भने अहिले ‘फेक रोजगारी अफर’ र ‘मित्रता’ प्रयोग गरी फसाउने प्रवृत्ति बढेको छ । भुजेल प्रकरणले यही प्रवृत्तिको पुष्टि गर्छ ।
घटनाको रहस्य जब चिकित्सकले स्वास्थ्य परीक्षण गरे त्यसपछि खुलेको थियो । भारतबाट फर्किएका भुजेल पेट दुःखेको भन्दै सिन्धुलीको अस्पताल पुगे । स्थानीय स्वास्थ्य संस्थामा एक्सरे गराउँदा चिकित्सकले ‘एउटा मिर्गौला हराएको’ पुष्टि गरेपछि प्रहरीलाई खबर गरिएको थियो । त्यसपछि अनुसन्धान ब्युरोको टोलीलाई अस्पतालले खबर ग¥यो र ब्युरो सक्रिय बन्यो । भुजेलका आफन्तका अनुसार उनी भारतबाट फर्किएपछि काठमाडौंको नयाँ बसपार्कमा छाडिएका थिए । त्यहाँबाट उनी मजदुरी गर्ने पुराना साथीकोमा पुगेका थिए र त्यसपछि घर फर्केर आफन्तलाई घटनाबारे जानकारी दिएका थिए । पेटमा टाँका लागेको घाउ र निरन्तर दुखाइले शंका झन् बलियो बनाएको थियो ।
प्रहरी स्रोतका अनुसार भुजेललाई ‘रोजगारीका लागि भारत जानुपर्छ’ भन्दै माघ महिनामा नै फसाइएको थियो । उनलाई भारतको एक निजी अस्पतालमा पु¥याएर मिर्गाैला निकालेपछि पुनः नेपाल फर्काइएको हो । मिर्गाैला बेचबिखनमा अझै गिरोह सक्रिय रहेकाले गोप्य तरिकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूलाई काठमाडौं ल्याएर विस्तृत अनुसन्धान भइरहेको छ । यो केवल एक घटनामात्र हो । यस्ता अन्य व्यक्तिहरूको पनि मिर्गाैला चोरी गरिएको हुन सक्ने शंका गरिएको छ । प्रहरीका अनुसार सिन्धुलीका अरू केही व्यक्तिहरूसमेत गिरोहको प्रभावमा परेका हुन सक्ने सम्भावना बढेको छ ।
‘घटनामा अन्य थप रहस्यहरू खुल्न बाँकी छन्’ –अनुसन्धानमा संलग्न एक अधिकृतले नाम नखुलाउने सर्तमा भने । प्रहरीले मिर्गाैला तस्करीमा संलग्न अन्तरदेशीय गिरोहसँगको सम्भावित सम्बन्धबारे पनि अनुसन्धान गरिरहेको छ । सन् २०१५ मा लागू भएको मानव शरीर अङ्गसम्बन्धी नियमन ऐनले स्पष्ट रूपमा स्वीकृतिबिना अङ्ग दान वा प्रत्यारोपण गैरकानुनी मानेको छ । तर, कानुन कार्यान्वयन र पीडित पहिचान प्रक्रिया अझै कमजोर रहेकोमा आलोचना हुँदै आएको छ ।
सिन्धुलीका भुजेलको मिर्गाैला चोरी प्रकरणले नेपालमा अझै ‘अदृश्य अपराध भइरहेका छन् भन्ने पुष्टि गरेको छ । पक्राउ परेकाहरूमाथिको छानबिनले यदि थप पीडितको तथ्य उजागर गर्छ भने यो केवल व्यक्तिगत पीडाको कथा नभई प्रणालीगत संकटको घण्टी हुनेछ । सरकारले तत्काल यस विषयमा उच्चस्तरीय अनुसन्धान, पीडित संरक्षण र कानुनको कडाइमा विशेष प्राथमिकता दिनु जरुरी छ ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अनुसार नेपालमा अवैध अंग व्यापारविरुद्धको कानुनी व्यवस्थाअनुसार गैरकानुनी अंग व्यापारलाई मानव तस्करी मानिन्छ र यसको सजाय १० वर्ष कैद र २–५ लाख जरिवाना तोकिएको छ । मानव शरीर अंग प्रत्यारोपण नियमन र निषेध ऐन, २०५५ अनुसार अवैध अंग प्रत्यारोपण अपराध सजाय ५ वर्ष कैद र जरिवाना २०–५० हजार र मृत्यु भए आजीवन कारावास हुने रहेको छ ।
यही कानुनी मान्यताका आधारमा सन् २०१३ जुन १ मा काठमाडौं जिल्ला अदालतले एक गिरोहका दुई दोषीलाई १० वर्ष कैद र २ लाख जरिवाना सुनाएको थियो । पीडितलाई पनि २ लाख क्षतिपूर्ति दिइएको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।