
काठमाडौं ।
अन्तर्राष्ट्रिय ओलम्पिकबाट मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ध्रुव बहादुर प्रधान संयोजक रहेको एनओसीको तदर्थ समितिका सदस्यहरुसँग स्पष्टीकरण माग गर्ने भएको छ ।
एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको ३१औं कार्य समितिको बैठकले ओलम्पिक चार्टर तथा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ विपरीत गठन गरिएको तथाकथित तदर्थ समिति अमान्य रहेको स्पष्ट गर्दै यस विषयमा आवश्यक स्पष्टीकरण माग्ने निर्णय गरेको हो।
बैठकले नौ सदस्यीय उक्त समितिमा संलग्न व्यक्तिहरूसँग सात दिनभित्र लिखित जवाफ माग गर्ने निर्णय गर्दै यसबारेमा सम्बन्धित अन्तर्राष्ट्रिय निकायहरू अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी), एशियन ओलम्पिक काउन्सिल (ओसिए) तथा अन्य सरोकारवाला निकायहरूलाई समेत जानकारी गराउने निर्णय गरेको छ ।
एनओसीले ओलम्पिक मूल्य र नियमको उल्लंघन गर्दै गैरकानुनी रूपमा प्रयोग गरिएको ओलम्पिक कमिटीको लोगो, एनओसी र ओसीएका चिन्हहरूको प्रयोगप्रति कडा आपत्ति जनाउँदै तिनीहरूको प्रयोग तत्काल बन्द गराउन सम्बन्धित निकायलाई पत्राचार गर्ने भएको छ ।
साथै, आइओसी र ओसीएको सहयोगमा निर्माण गरिएको ओलम्पिक भवनको प्रयोगलाई वैधानिक नेतृत्वमा रहेको जीवनराम श्रेष्ठको नेतृत्वमा रहेको कमिटीले सहज रूपमा प्रयोग गर्न पाउनुपर्नेमा बैठकले जोड दिएको छ । यसका लागि सरकारसँग औपचारिक पत्राचार गर्ने निर्णय पनि बैठकले गरेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।