
काठमाडौं ।
आज भाद्र शुक्ल तृतीयाका दिन हिन्दू महिलाहरूले हरितालिका तीज पर्व श्रद्धापूर्वक मनाउँदै छन्। देवादिदेव महादेवको आराधना गर्दै व्रत बस्ने यो पर्वमा विवाहित महिलाले पतिको दीर्घायु तथा अविवाहित महिलाले सुयोग्य वरको कामना गर्छन्।
पौराणिक कथाअनुसार, सत्ययुगमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पति प्राप्त गरेकी थिइन्। त्यसैको सम्झनामा यो पर्व मनाइन्छ। ‘हरित’ (हरण) र ‘आलिका’ (साथी) शब्दबाट बनेको ‘हरितालिका’ नामले पार्वतीको साथीहरूले उनलाई लुकाएको सन्दर्भ जनाउँछ।
यस दिन पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनहरूको ठूलो भिड देखिएको छ। भक्तजनको सहजताका लागि पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिएको छ।
व्रत निराहार, जलाहार वा फलाहार जस्ता विभिन्न तरिकाले बस्न सकिने उल्लेख छ। स्वास्थ्यअनुसार उपयुक्त विकल्प रोज्नुपर्ने र औषधि सेवन गर्दा व्रत नटुट्ने धार्मिक मान्यता स्कन्धपुराणमा उल्लेख छ। व्रत गरी शिव–पार्वतीको पूजा गर्दा मनोकामना पूरा हुने विश्वास रहिआएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।