
सुनसरी ।
लगातार वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह तीव्रगतिमा बढ्दै गएपछि कोशी ब्यारेजका ३४ ढोका खोलिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाका अनुसार आज दिउँसो ४ बजे गरिएको मापनमा ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड दुई लाख ५६ हजार १० क्युसेक पुगेपछि थप ढोका खोलिएको हो। यसअघि दिउँसो ३ बजे पानीको बहाव दुई लाख ४९ हजार १०५ क्युसेक पुगेको र त्यतिबेला ३२ ढोका खोलिएको थियो। आइतबार राति १० बजे गरिएको मापनमा दुई लाख २६ हजार ५६० क्युसेक पानी प्रवाह हुँदा ३१ ढोका खोलिएको थियो।
प्रवक्ता खतिवडाले कोशी ब्यारेजका ५६ ढोकामध्ये हाल ३४ ढोका सञ्चालनमा रहेको जानकारी दिए। उनका अनुसार पानीको बहाव एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको संकेत स्वरूप ब्यारेजमा रातो बत्ती बालिन्छ। अहिले कन्ट्रोल रुमले रातो बत्ती बालिएको जनाएको छ।
विशेषगरी पहाडी क्षेत्रमा लगातार वर्षा भइरहेकाले जलसतह अझै बढ्ने सम्भावना रहेको अधिकारीहरूले बताएका छन्।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।