०३ कात्तिक , काठमाडौँ – नेपाल सम्वतको नयाँ वर्ष ११३८ को आज पहिलो दिन, राजधानी लगायत देशका बिभिन्न शहरमा विविध कार्यक्रमको आयोजना गरी मनाइदैछ । चन्द्र पात्रोअनुसार चल्ने यो सम्वतको नयाँ वर्ष कार्तिक शुक्लपक्ष प्रतिपदाको दिनमा आउने गर्दछ ।
नेपाल सम्वत् ११३८ को पहिलो दिनको स्वागतका लागि शुक्रबार काठमाडौ उपत्यका लगायत नेवार समुदाय बाहुल शहरहरुमा विविध कार्यक्रमको आयोजना गरिएको छ । काठमाडौ उपत्यका सहित ललितपुरको पाटन, भक्तपुर जस्ता नेवार समुदायको बसोबास भएका ठाउँमा आज नयाँ वर्षको पहिलो दिन हर्षोल्लासका साथ मनाइदैछ ।
गरिब नागरिकको ऋणमोचन गरी नेपाल सम्वतको सुरुवात गराएको सम्झनामा राष्ट्रिय विभूति शङ्खधर साख्वाको योगदानको समेत चर्चा गर्ने गरिन्छ । यस अवसरमा ठाँउ ठाँउमा झांकी, याली र साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८८) मा सुरु गरेका थिए । राजाले गरिब जनतालाई ऋणमुक्त गराएपछि यो सम्वतको सुरुवात भएको मानिन्छ । यसैको कदर स्वरुप सरकारले २०५५ साल मंसीर २ गते बिहिबार साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको हो ।