०४ कात्तिक , काठमाडौँ – यमपञ्चक अर्थात् तिहारको पाँचौं एवं अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदी बहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आआफ्नो परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिएर मनाइएको छ ।
सामान्य मानिसले भाइटीका लगाउँदा साइतको आवश्यक्ता नपर्ने भएपनि साइत नै खोजेर टीका लगाउन खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहान ११ बजेर ५१ मिनेटको साइत दिएको थियो । यो साइत खोज्नेका लागि निकालिएपनि आज बिहान ०८ बजेपछि दिनभर भाइटीका लगाउन शुभ रहेको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताउनुभयो ।
भाइटीका शनिबार परेकाले बिहान ०८ बजे अघि भने टीका लगाउन राम्रो नहुने भनी समितिले अनुरोध गरेको थियो ।
दिदी बहिनीले मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराजको समेत पूजाआजा गरी तेलको धाराले दाजुभाइलाई घेरेर ढोकामा ओखर राखी टीका लगाएर ओखर फुटाउने धार्मिक विधि पूरा गरी टीका लगाइयो । यसो गर्नाले दाजुभाइ यश र ऐश्वर्यका साथै लामो समयसम्म सुखीपूर्वक जीवन यापन गर्नसक्ने शक्ति मिल्ने धार्मिक विश्वास छ ।
दिदी बहिनीले लगाएको तेलको घेरो र मखमली माला नसुकुञ्जेल दाजुभाइलाई आजको भाइटीकाको प्रसादको कामनाले केही हुँदैन भन्ने सामाजिक विश्वास समेत छ ।
कात्तिक कृष्ण त्रयोदशीका दिन शुरु भएको यमपञ्चक पनि आज कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाएपछि समाप्त हुने शास्त्रीय विधान छ ।
दिदीबहिनी एवं दाजुभाइ नहुनेले भने आज रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा गई टीका लगाएर यो पर्व मनाएका छन् । यो मन्दिर प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया अर्थात् आजैका दिन मात्र सर्वसाधारणका लागि खुल्ने गर्दछ ।
यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदी बहिनीले पूजा एवम् दर्शन गरी टीका लगाएका छन् ।
रासस