०५ कात्तिक , कञ्चनपुर – इँटा बिक्री नहुँदा कञ्चनपुरका इँटा व्यवसायी चिन्तित भएका छन् ।
वर्षा अघि बिक्रीका लागि तयार गरिएका इँटा वर्षदिन हुनलाग्दा पनि बिक्री हुन सकेका छैनन् । जिल्लाको दक्षिणी क्षेत्रमा मात्रै करिब तीन करोड इँटा बिक्री हुन बाँकी छ । जिल्लाभर ३५ वटा इँटा उद्योगमध्ये दुई दर्जन भट्टा दक्षिणी क्षेत्रअन्तर्गत रहेका छन् ।
इँटा व्यवसायी संघका अध्यक्ष कृष्णबहादुर तामाङले सबै उद्योगमा ५० देखि ६० लाख इँटा बिक्री हुन बाँकी रहेको बताउनुभयो ।
इँटा निर्माण गर्दा लाग्ने मजदुर खर्च, कच्चा पदार्थ खरिद, इन्धन खर्च सरकारी कर गरी वास्तविक इँटाको मूल्यांकन गर्दा प्रतिइँटा रु आठभन्दा बढी पर्न जान्छ भने आर्थिकमन्दी र व्यापारिक प्रतिस्पर्धाले रु आठभन्दा पनि कम मूल्यमा बिक्री गर्नुपरेको जगदम्बा इँटा उद्योगका सञ्चालक रमेश विष्टले बताउनुभयो ।
इँटा व्यवसायी संघले प्रति अब्बल इँटाको रू १० कायम गरेको छ तर बिक्रीको अभावमा कम मूल्यमा बिक्री गर्न पनि इँटा व्यवसायीबीच प्रतिस्पर्धा गर्नुपरेको उद्यमी बताउँछन् । विष्टको इँटाभट्टामा अहिले ४० लाख इँटा छन् । इँटा बिक्री नभएपछि साहुको ऋण, बैंकको साँवा ब्याज कसरी तिर्ने भन्ने चिन्ता रहेको उहाँले बताउनुभयो ।
पुनर्वासका पुराना इँटा उद्यमी यमबहादुर तामाङ ३० लाख इँटा बिक्री नहँुदा लगानी डुब्ने अवस्थामा पुगेको बताउनुहुन्छ । इँटा बिक्रीमा कमी आउनु आर्थिकमन्दी मात्रै नभएर जिल्लाभर बिना इजाजत प्राप्त भुसे भट्टाको सस्तो इँटाले पनि व्यवसायी मारमा परेका छन् ।
जय माँ इँटा उद्योगका सञ्चालक सुरेन्द्र साहुले भुसे भट्टाले थप मारमा परेको बताउनुभयो । जिल्लाभरि करिब ३० भुसे भट्टा छन् । नेपाल इँटा व्यवसायी संघका केन्द्रीय सहकोषाध्यक्ष वीरबल विश्वकर्माले अवैधानिक रूपमा सञ्चालित भुसे भट्टालाई प्रतिबन्ध लगाउनका लागि जिल्लास्थित सम्बन्धित निकायमा पटकपटक माग गर्दासमेत सुनुवाइ नभएको बताउनुभयो ।
सरकारी मापदण्डअनुरुप पत्थर कोइलाबाट इँटा बनाउँछौँ यसरी तयार गरिएको इँटाको मूल्यांकन गर्दा प्रतिइँटा आठभन्दा बढी पर्न जान्छ तर भुसे भट्टाबाट तयार गरिएका इँटा पाँच/छभन्दा पनि कम मूल्यमा बिक्री हुने भएकाले व्यवसायी धरायशी हुन अवस्थामा पुगेका हुन् ।
रासस