
काठमाडौं ।
संसारभरका सरकारी हुलाक सेवाहरुको अन्तर्राष्ट्रिय छाता संगठनका रुपमा रहेको विश्वका अग्रज संस्थाहरुमध्ये सन् १८७४ अक्टुबर ९ मा स्थापित विश्व हुलाक संघ १५० वर्ष पार गरी १५१औं वर्षमा प्रवेश गरेको छ ।
सन् १९४८ मा संयुक्त राष्ट्रसंघको विशिष्टीकृत संस्थाको आधिकारिकता पाएको यो संघ विश्वव्यापी रुपमा अत्यावश्यक सेवा का रुपमा रहेको छ । हुलाक सेवाको विश्व हुलाक प्रणालीमा विश्व हुलाक संघ स्थापना भएको दिन अक्टोवर ९ लाई संसारभर विश्व हुलाक दिवसका रुपमा मनाइने गरिन्छ ।
विक्रम संवत् १९३५ सालमा ‘नेपाल हुलाक घर’ स्थापना गरी औपचारिक रुपमा हुलाक सेवा सुरु गरेको नेपालले सन् १९५६ अक्टोबर ११ (वि.सं.२०१३ असोज २६) मा विश्व हुलाक संघको सदस्यता प्राप्त गरेसँगै नेपाल पनि विश्व हुलाक मञ्चको सक्रिय सदस्यका रुपमा क्रियाशील रही आफ्नो पहिचान कायम गर्दै आएको हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले जानकारी दिनुभयो । उहाँका अनुसार यस सन्दर्भमा नेपालमा पनि अन्य सदस्य राष्ट्रहरुमा जस्तै हरेक वर्ष अक्टोबर ९ लाई विविध कार्यक्रमसहित विश्व हुलाक दिवसका रुपमा मनाइँदै आइरहेको छ ।
महानिर्देशक भट्टराईले नागरिकका लागि हुलाक : स्थानीय सेवा, विश्वव्यापी पहुँच भन्ने नारा तय भई सदस्य राष्ट्रहरुले विविध कार्यक्रम गर्दै १५१औं विश्व हुलाक दिवस मनाइरहेको यस पावन दिनको अवसरमा सम्पूर्ण हुलाककर्मी, हुलाक सेवाका आम सेवाग्राही, शुभेच्छुक, शुभचिन्तक लगायत सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।
सूचना तथा सञ्चारको पुरानो तथा भरपर्दो माध्यमका रुपमा रहेको हुलाक सेवा सञ्चार र सूचना प्रविधिको विकास एवं विस्तारसँगै परम्परागत कार्यका अतिरिक्त आधुनिक र समुन्नत हँुदै विश्वभरि क्रमशः व्यावसायिक तथा व्यापारिक सेवातर्फ अगाडि बढिरहेको छ । यस सन्दर्भमा सूचना तथा सञ्चार प्रविधिको विकास एवं विस्तारसँगै नेपालको हुलाक सेवालाई आधुनिक, प्रतिस्पर्धी र व्यावसायिक बनाउँदै जानु आजको मूलभूत आवश्यकता रहेको महानिर्देशक भट्टराईको भनाइ छ । हुलाक सेवा नेपालको संघीय संरचनाअनुसार पुनर्संरचना भई सबै स्थानीय तहसम्म पहुँच भएको संघीय संरचनाको सबैभन्दा ठूलो संयन्त्रका रुपमा रहेको विभागले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।