०६ कात्तिक ,पाल्पा – पाल्पाको रम्भा गाउँपालिका वडा नं २ फोक्सिङकोटको अवरुद्ध नम्ताहा–झोकेदी मोटरबाटो सञ्चालन भएको छ ।
गएको असार महिनादेखि अवरुद्ध मोटरबाटो चार महिनापछि सञ्चालन भएको हो ।
बाटो सञ्चालन भएपछि फोक्सिङकोटको बेलौजा, लाँबे, खर्केहान, बोरोङ्गसे, नम्ताहा, हुँगीको स्याजु तथा मसल्याङलगायतका गाउँका करिब ३०० घरधुरीका स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् ।
विभिन्न ठाउँठाउँमा पहिरो गई बाटोको जगै भत्किएपछि यातायातका साधनसमेत ठप्प हुँदा स्थानीयवासीले निकै सास्ती भोग्नुपरेको थियो । स्थानीयको सक्रियतामा बाटो मर्मत गरिएपछि अहिले नियमितरुपमा सवारीसाधन सञ्चालन भएको उपभोक्ता समितिका सचिव टकबहादुर फालले बताए ।
बाटो मर्मतका लागि पाँच लाख रकम विनियोजन गरेर बाटो सञ्चालनमा ल्याइएको वडा अध्यक्ष उमानसिं सारुले बताए ।
गएको असार २० गते यस खण्डमा पहिरोमा पुरिएर एक जनाको मृत्युसमेत भएको थियो ।
रासस