
हेटौंडा ।
नेपाल प्रेस युनियन मकवानपुर शाखाले प्रदान गर्दै आएको सीतादेवी स्मृति प्रेस युनियन पत्रकारिता पुरस्कारको नगद राशि बढाएर ५० हजार रुपियाँ पु¥याइएको छ ।गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक तथा पुरस्कार प्रायोजक चिरञ्जीवी ढकालले हेटौंडामा प्रेस युनियन मकवानपुरको टोलीसँगको भेटका क्रममा आगामी वर्षदेखि पुरस्कार राशि ५० हजार रुपियाँ पु¥याउने घोषणा गर्नुभएको हो ।
उहाँको घोषणासँगै उक्त पुरस्कार मकवानपुरे पत्रकारिता क्षेत्रमा सर्वाधिक नगद राशिको पत्रकारिता पुरस्कार हुने भएको छ । यसअघि उक्त पुरस्कारको राशि १५ हजार रुपियाँ थियो । उक्त पुरस्कारबाट पहिलो पटक नेपाल प्रेस युनियन मकवानपुर संस्थापक अध्यक्ष राममणि दाहाल सम्मानित भइसक्नुभएको छ ।भेटका क्रममा प्रायोजक ढकालले पत्रकारहरुलाई संगठित हुँदै व्यावसायिक नेतृत्व विकासमार्फत युनियनलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले प्रेस स्वतन्त्रता र पत्रकारको पेशागत सम्मान सुदृढ गर्न युनियनको भूमिकाको प्रशंसा गर्दै निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।प्रेस युनियन मकवानपुर अध्यक्ष सुवास बिडारीले पत्रकारिता पुरस्कारको राशि क्रमशः बढाउँदै लैजान आग्रह गर्नुभयो । ‘मकवानपुरको पत्रकारिता क्षेत्रमा यो एक ऐतिहासिक क्षण हो ।
पत्रकारितालाई मुल पेशा बनाइ आफ्नो कर्ममा निरन्तर लागिरहेका मकवानपुरका पत्रकारलाई नगद ५० हजारसहित सम्मान गर्न पाउनु युनियनकर्मीका लागि गर्वको विषय हो,’ युनियन मकवानपुर अध्यक्ष बिडारीले भन्नुभयो–यसले पत्रकारिता क्षेत्रमा लागिरहेकालाई प्रोत्साहन गर्ने र संस्थागत विकासमा समेत टेवा पुग्ने विश्वास लिएका छौं ।
उक्त पुरस्कार प्रेस युनियन मकवानपुरको मात्र नभइ तमाम मकवानपुरे पत्रकारको पुरस्कार हुनेछ । युनियनले उक्त पुरस्कार प्रत्येक दुई वर्षमा प्रदान गर्ने अध्यक्ष बिडारीले जानकारी दिनुभयो ।‘युनियनले स्थापना गरेका अझै तीन पुरस्कार छन् । हामी अन्य तीन पुरस्कारलाई साधारणसभा र अधिवेशनको समयमा प्रदान गर्नेछौं । यस सम्मानलाई विशेष कार्यक्रम आयोजना गरी वितरण गर्नेछौं । यसका लागि संस्थाले आन्तरिकरुपमा कार्यविधि निर्माण गर्नेछ,’ अध्यक्ष बिडारीले पुरस्कार मकवानपुरे पत्रकारलाई विशेष प्राथमिकतामा राखेर वितरण गरिने बताउनुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।