०६ कात्तिक , काठमाडौँ – नेपाली काँग्रेसका नेता डा नारायण खड्काले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको कम्युनिष्ट गठबन्धन सत्ता प्राप्तिका लागि भएको बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेता डा खड्काले वामपन्थीको गठबन्धनले नेपाली काँग्रेस आत्तिनुपर्ने अवस्था नभएको बताउनुभयो । “वाम गठबन्धन क्षणिक स्वार्थका लागि मात्र हो, यो लामो समय टिक्न सक्दैन,” डा खड्काले भन्नुभयो ।
मुलुकको विकासका लागि राजनीतिक गठबन्धनभन्दा सिद्धान्तको गठबन्धन आवश्यक रहेको उहाँको भनाइ थियो । पूर्व शहरी विकास मन्त्रीसमेत रहनुभएका नेता डा खड्काले नेकपा (माओवादी केन्द्र)ले प्रमुख प्रतिपक्षीसँग सहकार्य गरेपछि विनाविभागीय भएर कुर्चीमा बसिरहनु कुनै औचित्य नभएको बताउनुभयो ।
नेकपा (एमाले)का नेता शंकर पोखरेलले मुलुकको राजनीतिक स्थायित्व र विकासका लागि वाम गठबन्धन भएको बताउनुभयो । “जति धेरै राजनीतिक पार्टी भयो, त्यति नै मुलुक अस्थिरतातर्फ गएकाले वाम गठबन्धन आवश्यक भएको हो,” नेता पोखरेलले भन्नुभयो ।
उहाँले लोकतन्त्रको अभ्यास गर्ने काँग्रेस कम्युनिष्ट गठबन्धनसँग आत्तिनु पर्ने कुनै कारण नभएको स्पष्ट पार्नुभयो । आगामी निर्वाचनपछि वाम गठबन्धनबाट एमालेले सरकारको नेतृत्व गर्न पाए केपी शर्मा ओली नै प्रधानमन्त्री हुने उहाँको भनाइ थियो ।
नेकपा (माओवादी केन्द्र)का नेता हरिबोल गजुरेलले राष्ट्रको आवश्यकतालाई हेरेर वामपन्थी दलहरुले गठबन्धन गरेको बताउनुभयो । उहाँले मुलुकमा स्थिर सरकार निर्माणका लागि कम्युनिष्ट विचारधारा मिल्ने दलहरु एक ठाउँमा उभिनु परेको स्पष्ट पार्नुभयो ।
राष्ट्रिय जनता पार्टी (राजपा)का नेता केशव झाले मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभाका लागि लोकतान्त्रिक शक्तिसँग तालमेल हुने बताउनुभयो । “राजपा संघीय समाजवादी फोरम नेपालसँग तालमेलको बारेमा कुरा भइरहेको छ, फोरमसँगको कुरा मिलेपछि काँग्रेससँग कुरा थाल्छौँ,” नेता झाले भन्नुभयो ।
रासस