०६ कात्तिक , पाँचथर – प्रधानन्यायाधीश गोपाल पराजुलीले न्यायाधीशले आफ्नो दायित्व पूरा गर्न छिटोछरितो न्याय सम्पादन गर्नुपर्ने बताउनुभएको छ ।
सदरमुकाम फिदिममा जिल्ला अदालतको भवनको आज शिलान्यास गर्दै उहाँले न्याय समाजले आविष्कार गरेको सत्यतामा आधारित सिद्धान्तको संग्रह र पद्धति भएकाले समाजभन्दा भिन्न हुन नसक्ने बताउँदै भन्नुभयो, “जहाँ विधिको शासन पूर्णरुपमा सञ्चालन भएको हुन्छ, त्यहाँ विकासका पाइला अघि बढेका छन् ।” अरु कुरा सच्चिन सक्छन् तर न्याय बिग्रियो भने सबै कुरा समाप्त हुने भएकाले न्याय व्यवस्थालाई दरिलो र व्यवस्थित बनाउन यसका सिद्धान्त र पद्धतिलाई जगाउनुपर्ने उहाँको भनाइ छ ।
उहाँले दशकौँ अघिदेखि थन्केर रहेका मुद्दा कसरी फैसला गराउने भन्ने विषयमा नियमावली संशोधन भएको हुँदा न्याय सम्पादन द्रुत गतिमा अघि बढ्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
उहाँले नवनिर्मित भवनको सम्झौता अवधिभित्र गुणस्तरीय भवन बनाउनुपर्ने बताउँदै समयभन्दा छ महिनाअघि निर्माण भएमा निर्माण व्यवसायीलाई दुई प्रतिशत बोनस दिन र ढिलो भएमा जरिवाना गर्न जिल्ला अदालतलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा न्याय परिषद् सदस्य रामप्रसाद सिटौला, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नकुल सुवेदी, उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश कुलरत्न भुर्तेल, प्रजिअ लक्ष्मीदेवी हुमागार्इँ, नेपाल बारका जिल्ला अध्यक्ष कमल चेम्जोङलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।रु तीन करोड ८१ लाख ५० हजार ७०४ को लागतमा दुई वर्षभित्र भवन निर्माण हुने बताइएको छ ।
रासस