समाचार
झापाको बिर्तामोडमा आइतबार २० वर्षीया रेखा सेढाइँ उर्फ रिचाले आत्महत्या गरिन् । तिहारको भाइटिकाको भोलिपल्टै उनले आफैँले आफैँलाई मारेपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् । तिहारलगत्तै दिदिको घर भारतको बंैग्लोर जाने बताइरहेको उनले अचानक आत्महत्या गरेपछि उनको परिवार पनि पूर्णतःशोकमा डुबेको छ । आखिर किन गरिन् त उनले आत्महत्या ? अनुसन्धानले के भन्छ ? भन्ने विषयमा तपाईको यु एस नेपाली न्युजका सम्पादकले झापाका एसपी विष्णुकुमार केसीसँग संक्षिप्त कुराकानी गरेका छन् । प्रस्तुत छ, सोही कुराकानीको सम्पादित अंश ।
रेखा सेढाईँको आत्महत्याबारे प्रहरी अनुसन्धानले केही तथ्य फेला पार्यो ?
आत्महत्या हो भन्ने कुरा पुष्टि भइसकेको छ । अब जहाँसम्म आत्महत्याको कारणबारे प्रश्न छ, यो विषयमा हामीलाई ठ्याक्कै त्यस्तो गतिलो ‘क्ल्यू’ प्राप्त भईसकेको छैन ।
तपाईहरुले रिचाको परिवारसँग पनि केही सोधपुछ गर्नुभयो होला, के भन्नुहुन्छ उहाँहरु ?
उहाँहरु आफैँ शोकमा हुनुहुन्छ । यद्यपी हामीले उहाँहरुसँग पनि सोधपुछ गरिसकेका छौँ । उहाँहरुका अनुसार रिचा भारतको बैँग्लोरमा रहेका आफ्नी दिदीकोमा जाने तयारीमा थिईन् । घरमा झगडा वा कुनै पनि किसिमको तनाव थिएन ।
सामाजिक संजालमा उनले राखेको स्ट्याटस, कल डिटेल्सबारे अनुसन्धान गर्नुभएको छैन ?
त्यसबारे हामी अनुसन्धान गरिरहेका छौँ । उनले आत्महत्या गर्नुअघि मोबाइलको कल्स सबै डिलिट गरेको भेटियो । सामाजिक संजालको पोष्ट हेर्दा उनी कुनै न कुनै मानसिक तनावमा थिईन् भन्ने कुरा चाहिँ पुष्टि भएको छ । यी दुवै क्लूमाथि हामी अनुसन्धान गरिरहेका छौँ ।
उनले सबै कल डिलिट गर्नु, सामाजिक संजालमा निराशाजनक स्ट्याटस सेयर गर्नुजस्ता कुराले उनको अफएयर वा त्यस्तै कुनै कारण अनुमान गर्न सकिन्छ ?
हामीले पनि सोही अनुमान गरेका छौँ । उनको कोहीसँग अफएयर चलेको थियो वा त्यस्तै कुनै कारणले उनले आत्महत्याको बाटो रोजिन् भन्नेबारे अनुसन्धान पूरा भएपछिमात्रै भन्न सकिएला ।
कतिपयले पढ्नका लागि आर्थिक स्रोत जुटाउन नसकेर आत्महत्या गरिन् पनि भनिरहेका छन् नि ?
हामीले उनीसँग जोडिएको सबै माध्यम नजिक रहेर अनुसन्धान गरिरहेका छौँ । हामी अझै आत्महत्याको कारणबारे पूर्ण कन्फिडेन्ट हुन सकेका छैनौँ भने कसैले हल्ला गरेको कुरामा के सत्यता हुन्छ ?