१० कात्तिक , गुल्मी – गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ पौदीअमराइ, बालुवाका कमल गिरीको उपचारका लागि विदेशमा रहेका नेपालीको तर्फबाट रु तीन लाख ८१ हजार हस्तान्तरण गरिएको छ ।
कमल गिरी बचाउ अभियानअन्तर्गत सहयोग रकम संकलन गरी विहिबार औपचारिक कार्यक्रममार्फत हस्तान्तरण गरिएको हो ।
पौदीअमराइमा भएको कार्यक्रममा सहयोग रकम हस्तान्तरण गर्दै मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले विदेशी भूमिमा पसिनासँग साटेको रकम उठाउने कुरा सहज नभएको भन्दै मानवीय नाताले आफ्नो खर्च कटाइ सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभएको थियो ।
सापकोटाले अभियानका संयोजक कृष्ण खत्री र सञ्चारमाध्यमबाट घटनालाई बाहिर पु¥याउने ‘ओझेलका खबर’ रेडियो कार्यक्रम सञ्चालक तथा पत्रकार प्रेम सुनारलाई धन्यवाद दिनुभएको थियो ।
झण्डै दुई वर्ष अगाडि सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका २२ वर्षीय कमल गिरीको भरतपुरमा रहेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको र आर्थिक अभाव भएपछि कमल बचाउ अभियान शुरु गरिएको थियो । अभियानकोतर्फबाट रु चार लाख ७१ हजारभन्दा बढी रकम बोल भएपनि रु तीन लाख ८१ हजार नगद जम्मा भएकाले सो रकम हस्तान्तरण गरिएको हो ।
सो अभियान ‘ओझेलका खबर’ संचालक तथा पत्रकार प्रेम सुनारले शुरु गर्नुभएको थियो । ओझेलका खबरमार्फत गुल्मी तथा आसपासका क्षेत्रमा धेरै पीडितहरुले उपचार पाउँदै आएका छन् । कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्य, पत्रकार, स्थानीय बुद्धिजीवी लगायतको सहभागिता रहेको थियो ।
रासस