
काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले तीन दिनअघि राजीनामा दिएको खुलेको छ । प्रधानमन्त्री सुशीला कार्कीलाई समेत राजीनामा दिएको विषय गोप्य राख्न आग्रह गर्नुभएका मन्त्री पुनले राजीनामा दिएको विषय हिजो मंगलवारमात्र सार्वजनिक भएको थियो । मन्त्रीले राजीनामा दिएको सुनेपछि कर्मचारी अचम्मित भएका थिए ।
शुक्रवार राति प्रधानमन्त्री कार्कीसमक्ष राजीनामा दिएको विषय शिक्षा सचिव चूडामणि पौडेललाई मात्र जानकारी थियो । उच्चस्रोतका अनुसार मन्त्री पुनले राजीनामा दिने विषयमा शिक्षा सचिव पौडेललाई भन्नुभएको थियो– हल्ला नगर्नु है, मैले राजीनामा दिएको विषय गोप्य राख्नु ल । राजीनामा दिएपछि आइतबार मन्त्री पुन र सचिवबीच एक्लाएक्लै भेट भएर बिदाइ गरेका थिए ।
नागरिकको तर्फबाट मन्त्री पद सम्हालेका पुनले पदबहाली गर्दा कहिल्यै पनि राजनीतिमा नलाग्ने बताउनुभएको थियो । आगन्तुकलाई समेत राजनीतिमा लाग्नुहुन्न भनेर सबक सिकाउन खप्पिस मन्त्री पुन आफैंले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । जिल्लामा राप्रपाका डम्बरबहादुर सुवेदी, नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी, नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ र नेपाली कम्युनिस्ट पार्टीका अर्जुन थापाले मनोनयन गर्नुभएको थियो । मन्त्री पुनले आफू स्वतन्त्र रूपमा उम्मेदवारी दिएको बताउनुभएपछि राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक समर्थन रहेको बुझिएको छ ।
चार महिनाअघि कार्यभार सम्हाल्नुभएका मन्त्री पुनले भन्न र देखाउन लायक खासै काम गर्न सक्नुभएन । इतिहासमा मन्त्रालयभित्र बास बस्ने मन्त्रीको पगरी गुथ्नुभएका पुनले मन्त्रालयको प्रवक्ता, सूचना अधिकारी र आधिकारिक भनाइलाई कहिल्यै पनि प्राथमिकता दिनुभएन । जे निर्णय ग¥यो फेसबुकको वालमा लेखेर सार्वजनिक गर्नुहुन्थ्यो ।
‘पछिल्लो समय शिक्षा नियमावलीको दशौं संशोधन गर्ने अन्तिम तयारीमा रहनुभएका मन्त्री पुनले सो काम पनि गर्न सक्नुभएन । उहाँले प्रधानमन्त्रीले नियमावली संशोधन गर्न सहयोग नगरेको आरोप थोपर्न भ्याउनुभयो । केही विज्ञको टोलीले तयार गरेको नियमावली स्वीकृत गर्न अन्तिम समयसम्म लाग्नुभएको थियो, तर प्रक्रिया नपुगेपछि मन्त्रिपरिषद्बाट स्वीकृत हुन सकेन’ –स्रोतले भन्यो । त्यही भएर प्रधानमन्त्री र मन्त्रीबीचको सम्बन्धमा फाटो आउन खोजेको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।