सिन्धुली ।
सिन्धुलीमाढीमा आजदेखि सातौँ सिन्धुली महोत्सव २०८२ सुरु भएको छ । “सिन्धुली महोत्सव २०८२ को पहिचान, समुन्नत र सम्वृद्ध सिन्धुली हाम्रो अभियान” भन्ने नारा सहित आयोजना गरिएको महोत्सव उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले उद्घाटन गर्नुभएको हो ।
सिन्धुली उद्योग वाणिज्य संघ र कमलामाई नगरपालिकाको आयोजनामा सुरु भएको महोत्सव माघ १९ गते सम्म सञ्चालन हुनेछ । महोत्सवको उद्घाटन गर्दै उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले यस महोत्सवले सिन्धुलीको उत्पादन र बजारलाई जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले पछिल्लो समय देशको आर्थिक क्षेत्रमा अनिश्चितता, अन्योलता बढी रहेका बेला सबै दलहरु र सरकार निर्वाचनमा होमिएकाले केही आशा पलाएको बताउनुभयो ।
महोत्सवलाई सम्बोधन गर्दै कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलले सिन्धुलीको पहिचान बनेको उत्पादीत जुनार, सुन्तला लगाएत फलफूल र तरकारीहरु बर्षभरी उपभोगका लागि बजार ल्याउन, किसानहरुले पाउने मूल्य बढाउनको लागि एउटा ठुलो शितभण्डार निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उहाँले पोल्ट्रि उद्योगले ठुलो सफलता पाएको बताउदै मासुमा सिन्धुली जिल्ला आत्मनिर्भर हुने अवस्थामा रहेको बताउनुभयो । उहाँले महोत्सवले दक्षिण कोरियाबाट ल्याइएको होलिस्ट जातका उन्नत गाईपालनबाट उत्पादीत दुग्धजन्य उत्पादन र पशुपालनको महत्व बढाउन प्रचार प्रसारमा टेवा पुग्ने बताउनुभयो ।
सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले महोत्सव मनोरञ्जन गर्ने थलो मात्र नभई स्थानीय उत्पादन र उपभोक्ताको मिलन विन्दु बन्ने बताउनुभयो।
अध्यक्ष श्रेष्ठले जिल्ला भित्र उत्पादन हुने रैथाने बाली, रसिलो जुनार, सुन्तला लगाएतका कृषिजन्य उत्पादनको प्रचार–प्रसारलाई जोड दिईएकाले उद्यमी र लगानी कर्ता बिच भरोसा बढाउँदै जिल्लामा लगानीमैत्री वातावरण बनाउन महोत्सव सफल हुने बताउनुभयो ।
महोत्सवको उद्घाटन समारोहमा मौलिक नेपाली पच्चेबाजा, नेवार, मगर, सुनुवार, तामाङ लगाएतका जातजातीहरुले आफ्नो भेषभुषा सहित झाकी प्रदर्शन गरेका थिए ।
महोत्सव उद्घाटन कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, विभिन्न जिल्लाबाट आउनुभएका उद्योग वाणिज्य संघंका पदाधिकारीहरुले महोत्सव सफलताको शुभकामना दिनुभएको छ ।
महोत्सवबाट बचत भएको रकम विपन्न नागरिक उपचार कोषमा जम्मा गरेर गरिव, विपन्न नागरिकको उपचारमा सहयोग गर्ने र एउटा सव वाहन खरिद गर्ने आयोजकको लक्ष्य रहेको छ । जिल्लामा व्यवसायिक प्रवद्र्धन गर्ने, नयाँ सम्भावनाको पहिचान गरी लगानीमैत्री वतावरण बनाउने र जिल्लाको धार्मिक तथा पर्यटन क्षेत्रहरुको प्रवद्र्धन गर्ने महोत्सवको उदेश्य रहेको छ ।
कमलामाई नगरपालिका ६ सदरमुकाम स्थित खुल्लामन्चमा सञ्चालन हुने महोत्सवमा करिव ३ सय बढी स्टलहरु रहेका छन् । स्टलमा रैथाने बालीहरु तथा कृषिजन्य वस्तुहरु, हस्तकला, घरेलु उद्यमीले उत्पादन गरेका सामाग्री तथा दैनिक उपभोग्य सामाग्रीहरु, अटोमोवाइल्स, विभिन्न यान्त्रीकरण उपकरणहरु, सुचना तथा ईलेक्टोनिक्स सामानहरु प्रदर्शन तथा विक्रीका लागि राखिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।