११ कात्तिक , काठमाडौँ – पार्टी एकताको निर्णयसहित आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धन गरेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले यही कात्तिक १९ देखि २६ गतेसम्म ताप्लेजुङ–दार्चुला चुनावी अभियान सञ्चालन गर्ने भएका छन् ।
सो अभियानलाई दुवै पार्टीका शीर्षनेताले सम्बोधन गर्ने गरी कार्यक्रम तय गरिएको र स्थानीयस्तरमा तय हुने निर्वाचन केन्द्रित कार्यक्रममा पनि पार्टीका उच्च तहका नेता सहभागी हुने भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो चरणमा आगामी मंसिर १० गते निर्वाचन हुने हिमाली जिल्लामा चुनावी अभियानलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।
पहिलो चरणमा ३२ जिल्लामा निर्वाचन हुँदैछ । ती जिल्लाको चुनावी अभियानपछि दोस्रो चरणका लागि कार्यक्रम तय गरिने ती पार्टीले जनाएका छन् । यस्तै जिल्ला तहमा पनि दुवै पार्टीले सात सदस्यीय पार्टी एकता संयोजन समिति बनाउने, संयुक्त प्रचारप्रसार समिति बनाउने, जनवर्गीय तथा लेखक, बुद्धिजीवीका बीचमा संयुक्त कार्यक्रम गर्ने र विपक्षीका तर्फबाट फैलाइएको गलत प्रचारको खण्डन गर्दै वामपन्थी शक्ति नै खासमा लोकतान्त्रिक शक्ति हो भन्ने स्पष्ट पार्ने कार्यक्रम तय भएको छ । यस्तै प्रदेश तथा जिल्ला तहमा संयुक्त भेलाको आयोजना गरी दुवै पार्टीबीच मैत्रीपूर्ण रुपमा निर्वाचन अभियान सञ्चालन गर्ने कार्यक्रम दुवै पार्टीले सञ्चालन गर्ने प्रवक्ता भुसालको भनाइ छ ।
नेकपा (एमाले)का केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले देशव्यापी रुपमा नै एकीकृत रुपमा चुनावी अभियान सञ्चालन गर्ने लक्ष्यका साथ कार्यक्रम तय गरिएको र त्यसले निर्वाचनको वातावरण बनाउने उल्लेख गर्नुभयो । उहाँले पार्टी एकताको मूल मर्म र निर्वाचन सफल बनाउने दायित्वलाई ख्याल गर्दै दुवै पार्टीका शीर्ष नेताले सबै तहका नेता तथा कार्यकर्तालाई निर्देश गरेको बताउनुभयो । पार्टी एकता र चुनावी तालमेललाई इमान्दारीपूर्वक कार्यान्वयन गर्न उत्साहका साथ आआफ्नो स्थानमा खट्न समेत दुवै पार्टीका शीर्ष नेताले आग्रह गर्नुभएको छ ।
रासस