११ कात्तिक , काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुन धादिङको गजुरी गाउँपालिका–५, बांगेमोडमा आज भएको बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
उपराष्ट्रपति पुनले आज एक शोक वक्तव्य प्रकाशित गर्दै त्रिशूली नदीमा बस खसेर दुर्घटना हुँदा भएको ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त गर्नुभएको हो ।
उहाँले उक्त दुर्घटनामा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मृतकका शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । उहाँले दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
बस दुर्घटना हुँदा बेपत्ता हुनु भएकाको खोजी कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुभएको छ ।
उहाँले बढ्दो सवारी दुर्घटना र त्यसबाट भइरहेको मानवीय क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सडक सुरक्षालाई प्रभावकारी बनाई दुर्घटना न्यूनीकरणमा ध्यान दिन सरकार र सरोकारवाला पक्षको ध्यानाकर्षण गराउनु भएको उपराष्ट्रपतिका प्रेस संयाजक मनोज घर्तीले जानकारी दिनुभयो ।
रासस