काठमाडौँ ।
पूर्व राष्ट्रपति विद्या देवी भण्डारी ले महाशिवरात्री पर्व र नेपाली सेना दिवस २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेकी छन्।
उनले महाशिवरात्रीले आत्मशुद्धि, संयम, त्याग र सदाचारतर्फ उन्मुख हुन प्रेरणा दिने उल्लेख गर्दै, पशुपतिनाथको आराधनाबाट प्राप्त आध्यात्मिक चेतनाले समाजमा शान्ति, सद्भाव, सहिष्णुता र एकताको भावना अझ सुदृढ होस् भन्ने कामना व्यक्त गरेकी छन्।
यसैगरी, नेपाली सेना दिवसले राष्ट्रको सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षणमा नेपाली सेनाले पुर्याएको योगदानको स्मरण गराउने अवसर प्रदान गर्ने उनले जनाइन्। राष्ट्रसेवामा समर्पित नेपाली सेनाका सम्पूर्ण सदस्यप्रति पनि उनले हार्दिक शुभकामना व्यक्त गरेकी छन्।
पूर्व राष्ट्रपति भण्डारीले महाशिवरात्री पर्व तथा नेपाली सेना दिवसले सबै नेपालीमा राष्ट्रप्रेम, कर्तव्यनिष्ठा र आपसी सहकार्यको भावना अझ सुदृढ बनाओस् र देशमा शान्ति, स्थायित्व, समृद्धि र प्रगतिका नयाँ सम्भावनाहरूको ढोका खुलोस् भन्ने कामना व्यक्त गरेकी छन्।


यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।