१८ कात्तिक , ललितपुर – जनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरीले ग्रामीण जनतामा स्वच्छ ऊर्जाको पहुँच विस्तार गरी विपन्न समुदायको जीवनस्तर उठाउन र वातावरण संरक्षणका लागि नवीकरणीय ऊर्जा प्रविधिको विकास र विस्तार गर्नु पर्नेमा जोड दिनुभएको छ ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २१औँ वार्षिकोत्सवको अवसरमा आज केन्द्रको हाताभित्र जैविक फोहर प्रयोग गरी सञ्चालन गरिएको बायोग्यास चुलो बालेर उद्घाटन गर्दै उहाँले नेपालले वातावरणसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरुमा हस्ताक्षर गरी पक्ष राष्ट्र बनेको र त्यसबापत अन्तर्राष्ट्रिय सहयोग प्राप्त भइरहेको बताउनुभयो ।
मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले संघीय संरचनाअनुसार केन्द्रलाई संघ, प्रदेश र स्थानीयस्तरमा विस्तार गर्न नवीकरणीय ऊर्जा नीति र ऐन ल्याउन लागिएको जानकारी दिनुभयो ।
केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले १६ प्रतिशत जनसंख्यामा नवीकरणीय ऊर्जाको पहुँच पुगेको र आगामी दिनमा यसलाई मुख्य ऊर्जा स्रोतका रुपमा विस्तार गर्न सकिने धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाल नवीकरणीय ऊर्जा परिसंघका अध्यक्ष गुणराज ढकालले सरकार, दातृ निकाय र निजी क्षेत्रको सहकार्यमा नेपालमा नवीकरणीय ऊर्जाको कार्यक्रम सफल ढंगबाट सञ्चालन भएको र यसले मुलुकको समृद्धिमा ठूलो टेवा पु¥याउन सक्ने बताउनुभयो ।
मञ्चु स्मृति अक्षयकोषका संयोजक तुमिलकुमार श्रेष्ठले सवारी दुर्घटनामा परी मृत्यु भएका छोराको स्मरणमा रु २५ हजार राशिको ‘सुप्रवित स्मृति नवीकरणीय ऊर्जा पुरस्कार’ स्थापना गरिएको जानकारी गराउनुभयो ।
रासस