१९ कात्तिक , कपिलवस्तु – कपिलवस्तु प्रतिनिधि सभा १ का वामपन्थी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार चक्रपाणि खनाल बलदेवले मधेशको मुद्धा कम्युनिष्टहरुले नै उठाएको र त्यो वामपन्थी सरकारले मात्रै पूरा गर्ने दाबी गरे ।
कपिलवस्तुको तौलिहवास्थित एमाले पार्टी कार्यालयमा वामपन्थी गठबन्धनका जिल्ला स्तरीय नेताको संयुक्त बैठकमा बलदेवले निर्वाचनबाट बहुमत प्राप्त गरेपछि वामपन्थी सरकाले मधेशका मुद्धा सम्बोधन र सम्पन्न मधेशका लागि आत्मनिर्भर कार्यक्रम ल्याउने बताए । ‘मधेश सम्पन्न भए देश सम्वृद्ध हुन्छ, उनीहरु देशका धर्तीपुत्र हुन् उनका माग मेरो पहिलो मुद्धा हो’ उनले भने ।
कम्युनिष्टहरु आफ्नो प्रतिबद्धताबाट कहिल्यै पछि नहटेको जिकिर गरे । प्रतिनिधि सभा १ का उम्मेदवारसमेत रहेका बलदेवले वामपन्थी उम्मेदवारलाई दुई तिहाई बहुमतले जिताएर नेपालको स्थाइत्वमा निर्माणमा सहयोग गर्न मतदातासँग आग्रह पनि गरेका छन् ।
संयुक्त बैठकमा बोल्दै एमाले नेता खिमलाल भट्टराईले वाम गठबन्धनले जनताको चाहना र भावना अनुरुप काम गर्ने बताए । उनले देशमा सबै भन्दा बढी शासन गरेको दरबार र कांग्रेस सधै विकासको बाधक बनेकाले देश विपन्न भएको जकिर गरे ।
प्रदेश सभा १ को (१) का वामपन्थी साझा उम्मेदवार तथा एमाले नेता विष्णु पौडेलले कपिलवस्तुको वर्तमान अवस्थामा वामपन्थी नेतृत्वको जित आवश्यक रहेको बताए ।
उनले अशिक्षा, बेरोजगारी, गरिबी र विकासको अभावले ग्रसित कपिलवस्तुको समग्र परिवर्तन र विकासका लागि वाम गठबन्धनका सबै उम्मेदवार विजयी हुनैपर्ने धारणा राखे । ‘अब बन्ने वामपन्थी सरकारको पहिलो प्राथमिकतामा कपिलवस्तुका मुद्धा प्राथमिकतामा हुन्छन् ।’ उनले भने ।
पार्टी एकता संयोजन समिति गठन
संयुक्त बैठकले माओवादी केन्द्र र एमाले पार्टी एकीकरणका लागि केन्द्रीय सर्कुलर अनुसार एमाले अध्यक्ष झवीलाल पोख्रेलको संयोजकत्वमा ७ सदस्यीय जिल्ला स्तरीय पार्टी एकीकरण संयोजन समिति गठन गरेको छ । जसको सह–संयोजकमा माओवादी जिल्ला इन्चार्ज भानुप्रकाश श्रेष्ठ रहेका छन् ।
सदस्यहरुमा एमाले नेता बलराम अधिकारी, बाबुराम खनाल, डम्बर शर्मा र माओवादी जिल्ला संयोजक विष्णु शाह र कमल चुदाँली रहेका छन् । यसैगरि निर्वाचन अभियान परिचालनका लागि ३ वटै क्षेत्र उप–समितीहरु गठन गरिएको छ ।
माओवादी नेता डोरप्रसाद उपाध्याय (निर्मलकुमार)का अनुसार प्रतिनिधि सभा १ को निर्वाचन परिचालन संयोजकमा डम्बर शर्मा र सह संयोजक कमल चुदाँली, २ को संयोजकमा बाबुराम खनाल र सह–संयोजकमा रुद्रलाल बन्जाडे र ३ को संयोजकमा सफर अलि मिया र सह–संयोजकमा बालकराम बुढा र जित बहादुर थापालाई चयन गरिएको छ ।
वैठकमा माओवादी नेता डोरप्रसाद उपाध्याय, गिरीधारीलाल न्यौपाने, एमाले नेता कृष्ण पौडेल, टिकाराम अर्याल, शान्तिदेवी चमार, प्रदेश सभा १ को २ का उम्मेद्धवार फैजरुल अहमद लगायतको सहभागिता रहेकको थियो । दुबै पार्टीको संयुक्त वैठकले विभिन्न निर्वाचन परिचालनका लागि उप–समितिहरुसमेत निर्माण गरेका छन् ।
यो खबर आजको नयाँ पत्रिकामा छ ।