२२ कात्तिक , पोखरा – प्रतिनिधि सभाको लागि कास्की क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका जगत विश्वकर्माले प्रयोग गर्ने सवारीसाधन गएराती तोडफोड भएको छ । उनले प्रयोग गरेको ग १ य ७२८ नम्बरको पर्यटक गाडी तोडफोड भएको हो । तोडफोडबाट गाडीको पछाडिको सिसा फुटेको छ ।
पार्टीका नेता कार्यकर्ता सहित राती नौ बजे पोखराको न्यूरोडस्थित होटेलमा बसेर खाना खान लागिरहेको अवस्थामा आफ्नो गाडी तोडफोड भएको उम्मेदवार विश्वकर्माले जानकारी दिएका छन् । उनले मादकपदार्थ सेवन गरेको कुनै व्यक्तिले गाडी तोडफोड गरेको हुनसक्ने अनुमान गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले घटनाको पुष्टि गर्दै घटनाको बारेमा अनुसन्धान भइरहेको र कोही कसैलाई पक्राउ नगरिएको जानकारी दिए ।