२५ कात्तिक , ललितपुर – आग्रह गर्दासमेत मंगलबजारकी सरिता महर्जनले आफ्नो घरमा कुनै पनि राजनीतिक दलको झण्डा राख्न मान्नुभएको छैन ।
घरमा झण्डा राख्न मात्रै होइन, भोट हाल्नसमेत उहाँले पानी उपलब्ध गराउनुपर्ने सर्त राख्नुभएको छ । जुन दल र उम्मेदवारले पानी सहज रुपमा उपलब्ध गराउने विश्वास दिलाउन सक्छ, उसैलाई मत दिने उहाँ बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “यसअघि पनि चुनावमा भोट माग्दा पानी सजिलै उपलब्ध गराउने भने पनि कसैले गरेका होइनन् ।” यसअघि जितेका र हारेका दुवै दल र उम्मेदवार फर्किएर नआएको उहाँको गुनासो छ ।
आगामी मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा पाटनका स्थानीयवासीले उम्मेदवारसँग पानी माग्न थालेका छन् । पाटनका आधा भाग क्षेत्र नं २ र आधा क्षेत्र नं ३ मा पर्छ । यस क्षेत्रका बासिन्दाले लामो समयदेखि पानीको अभाव भोगिरहेका छन् । अघिल्ला निर्वाचनमा समेत स्थानीयवासीले घरदैलोमा आइपुगेका उम्मेदवारसँग पानी माग गरेका थिए । उम्मेदवारले पानीको समस्या समाधान गर्ने प्रतिबद्धता दिए पनि पूरा गर्न सकेका छैनन् ।
नेपाली काँग्रेसका तर्फबाट क्षेत्र नं ३ का उम्मेदवार मदनबहादुर अमात्य मतदातासम्म पुग्दा सबैभन्दा बढी पानीको समस्या राख्ने गरेको बताउनुहुन्छ । स्थानीय स्रोत मात्रै पर्याप्त छैन, उहाँ भन्नुहुन्छ, “मेलम्चीको पानी आएर सबैतिर वितरण हुँदा केही मात्रामा समस्या समाधान हुन सक्छ ।” मेलम्चीको पानी तत्कालका लागि समाधान भए पनि दीर्घकालीन समाधान खोज्नुपर्नेमा उहाँको जोड छ ।
नगरको भित्रि भागमा मात्रै होइन अहिले बनेका नयाँ नगरपालिकामा समेत पानीको समस्या छ । नगरको विकास र सम्पदाको संरक्षण र आर्थिक समृद्धि आफ्नो निर्वाचन एजेण्डा भएको उहाँले बताउनुभयो । नगरको व्यवस्थापनका लागि महानगरपालिकासँगको समन्वयमा काम गर्ने उहाँको योजना छ ।
नेकपा (एमाले)का तर्फबाट क्षेत्र नं २ को प्रदेश (क) का उम्मेदवार माधव पौडेल नगरका भित्रि भागसँगै इमाडोललगायत बस्ती विस्तार भएका स्थानमा खानेपानीको समस्या भएको बताउनुहुन्छ । अल्पकालीन रुपमा मेलम्चीलाई नगरभन्दा बाहिरसम्म विस्तार गरेर खानेपानीको समस्या तत्कालका लागि समाधान गर्न सकिन्छ । लामाटारबाट काभ्रेसम्म राष्ट्रिय राजमार्ग विकास गर्दा पानीको समेत समस्या दीर्घकालीन रुपमा नै हल हुनसक्छ । रोशी खोला र सुनकोशी खोलबाट पानी ल्याएर दीर्घकालीन समस्या समाधान गर्न आफू लाग्ने उहाँ बताउनुहुन्छ ।
खानेपानीसँगै सडक स्तर वृद्धि, कालोपत्र, ढल प्रणालीको विकास, फोहरमैला व्यवस्थापन गर्ने गुरुयोजना छ, उहाँ भन्नुहुन्छ, “व्यवस्थित र सफा नगर बनाउने हाम्रो योजना छ ।”
विवेकशील साझा पार्टीका उम्मेदवार अमीरराज महर्जन वितरण प्रणालीमा सुधार गरेर खानेपानी सहजरुपमा उपलब्ध गराउने प्रतिबद्धता लिएर मतदातासम्म जाँदै हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सबै पक्ष समझदारी गरेर यो समस्याको स्थायी समाधान खोज्न लाग्नुपर्छ ।” मेरो ठाउँमा मैले नै केही गर्नुपर्छ भन्ने भावना मतदातामा विकास गर्ने विवेकशील साझा पार्टीको योजना छ ।
निर्वाचन जित्ने र हार्ने दुवैले क्षेत्रमा फर्किएर नजाने गुनासो आम मतदातामा छ, उहाँले भन्नुभयो — “आफू निर्वाचनको परिणाम जे भए पनि मतदातासँग नियमित सम्पर्कमा हुने छु ।”
ललितपुरमा कुल मतदाता दुई लाख २८ हजार ३३९ रहेको छ । तीमध्ये क्षेत्र नं १ मा ६५ हजार ९१८, क्षेत्रमा नं २ मा ७५ हजार ९८१ र क्षेत्र नं ३ मा ८६ हजार ४४० मतदाता रहेका छन् । १३१ वटा मतदानस्थलमा २७७ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
रासस