२८ कात्तिक , काठमाडौँ – युएईको चार दिने औपचारिक भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्स (युएई) आइपुगेकी छिन् ।
अबुधावीका राजकुमार तथा युएई आर्म फोर्सका उपमहानिर्देशक शेख मोहम्मद विन जायद अल नाहायनको निमन्त्रणामा उनी इतिहाद एअरवेजमार्फत् सोमबार साँझ ८ बजे अबुधावी आइपुगेकी हुन् ।
राष्ट्रपति भण्डारीलाई युएईका मानव संशाधनमन्त्री नासर थानी अल हमेलीले स्वागत गरे । त्यसक्रममा नेपालका लागि युएईका राजदूत साइद हमदान अल नाकेइ, युएईका लागि कार्यबाहक नेपाली राजदूत नेत्र टंडनलगायत दूतावासका कर्मचारी अबुधावी विमानस्थलमा उपस्थित थिए ।
यस्तो छ चार दिने भ्रमण तालिका
चार दिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारीसँग १४ नोभेम्बरमा अबुधावीका राजकुमार अल नाहायनले औपचारिक भेट गर्नेछन् । बैठकमा दुई देशबीच सहयोग आदानप्रदात तथा पारस्परिकहितबारे छलफल हुनेछ ।
भण्डारीले १५ नोभेम्बरमा नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रममार्फत् युएईमा रहेका नेपालीलाई सम्बोधन गर्नेछिन् । कार्यक्रममा युएईमा क्रियाशील विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधि, व्यवसायी, समाजसेवीको उपस्थिति रहने जानकारी नेपाली दूतावासले दिएको छ ।
भ्रमणकै क्रममा राष्ट्रपति युएईको मुख्य तथा व्यापारिक शहर दुवई जानेछिन् । नेपाल र युएईबीच कुटनीतिकसम्बन्ध स्थापनाको ४० वर्ष पूरा भएको अवसरमा उनको युएई भ्रमण शुरु भएको हो । भण्डारी १६ नोभेम्बरमा नेपाल फर्कने छिन ।
यो खबर आजको नयाँ पत्रिकामा छ ।