२८ कात्तिक , लमजुङ – बदर मत कम गर्ने उद्देश्यले लमजुङमा नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले १० मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा बदर मत कम गर्नेे उद्देश्यले सोमबार नमुना मतदान कार्यक्रम गरेको हो ।
सदरमुकाम बेशिसहरको फुलबारीमा आयोजना गरिएको नमुना मतदान कार्यक्रममा विभिन्न राजनीतिक दलका स्थानीय प्रतिनिधि र मतदाता सहभागी थिए ।
स्थानीय तहको निर्वाचनमा धेरै बदर मत खसेकाले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा बदर मत कम गर्न मतदाता शिक्षालाई प्रभावकारी बनाउन नमुना मतदान कार्यक्रम शुरु गरिएको जिल्ला निर्वाचन अधिकृत कोमलप्रसाद आचर्यले बताए । आचार्यले भने, ‘बदर मतलाई न्युनिकरण गर्न नमुना मतदान अभियान थालिएको हो ।’
चारवटा नगरपालिका र चारवटा गाउँपालिका रहेको लमजुङमा सुन्दरबजार नगरपालिकाको सुन्दरबजार, मस्र्याङ्दी गाउँपालिकाको खुदीबजार र दोर्दी गाउँपालिकाको नौथर शेरमा समेत नमुना मतदान कार्यक्रमको आयोजना गरिने जिल्ला निर्वाचन अधिकारी तुलसीप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
तिमिल्सिनले बेशिसहरमा गरिएको नमुना मतदानमा बदर मत बढी देखिएको बताए । उनका अनुसार स्थानीय तहको निर्वाचनमा ७ ठाउँमा मतदान गर्नुपर्ने भए पनि ६ ठाउँमा मतदान गरेजस्तै अवस्था दोहोरिएको छ । लमजुङमा स्थानीय तहको निर्वाचनमा ७३ प्रतिशत मत खसेकामा एक दशमलव शुन्य एक प्रतिशत मत बदर भएको थियो ।
सोमबार बेशिसहरको फुलबारीमा गरिएको नमुना मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदान अधिकृतको हस्ताक्षर रुजुगर्ने, गोप्य स्थानमा पुगी उम्मेदवारको चुनाव चिन्हमा मत दिन सिकाइएको थियो । मत बदर नहुने गरी मतपत्र पट्याउन पनि सिकाइएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, निर्वाचन कार्यालय, सुरक्षा निकाय, म्यादी प्रहरी, सञ्चारकर्मीलगायत उपस्थित थिए । लमजुङमा १२३ मतदानस्थल र १६५ मतदान केन्द्र रहेका छन् ।
यो खबर आजको नयाँ पत्रिकामा छ ।