३० कात्तिक , काठमाडौँ – पाटन औद्योगिक क्षेत्रभित्र मंगलबार साँझ लागेको आगलागीमा दुई उद्योगले करिब १४ करोड रुपैयाँबराबरको क्षति भएको जानकारी दिएका छन्। आनन्द प्लास्टिक उद्योग र पञ्चकन्या ग्रुपअन्तर्गतको यूपीभीसी प्रोफाइल्स डोर एन्ड विन्डोमा मंगलबार साँझबाट सुरु भएको आगलागी बुधबार बिहान १५ घन्टापछि मात्रै नियन्त्रणमा आएको थियो।
उद्योगभित्र रहेका अधिकांश मेसिन तथा सामान जलेर नष्ट भएका छन्। तर अहिलेसम्म आगलागीको कारण खुलेको छैन। मंगलबार साँझ सवा ६ बजेबाट उद्योगमा आगलागी भएको थियो। उपत्यकामा रहेका सबै दम्कल प्रयोग गर्दा पनि समयमै आगलागी नियन्त्रण हुन सकेको थिएन।
ओलागीबाट करिब ७ करोड रुपैयाँबराबरको क्षति भएको यूपीभीसी प्रोफाइल्स डोर एन्ड विन्डो उद्योगका म्यानेजर नाम्गेल जिम्बाले बताए। आगलागीबाट उद्योगमा ६० प्रतिशत क्षति पुगेको उनको भनाइ छ। उद्योगभित्र सञ्चालनमा रहेका १० वटा मेसिनमा क्षति पुगेको उनले जानकारी दिए। अहिले उद्योगभित्र रहेको मेसिन र उत्पादन भएका सामानदेखि कच्चा सामानको जाँचसमेत भइरहेको उनले बताए।
मंगलबार साँझ सवा ६ बजेबाट उद्योगमा आगलागी भएको थियो। उपत्यकामा रहेका सबै दम्कल प्रयोग गर्दा पनि समयमै आगलागी नियन्त्रण हुन सकेको थिएन।
आगलागी सुरु भएपछि आफूहरूले उद्योगभित्र रहेका गाडी, स्कुट तथा कम्प्युटर र फाइल भने झिक्न सफल भएको जिम्बाले बताए। उद्योगले २०६६ देखि प्लास्टिकका झ्यालढोका उत्पादन गर्दै आएको थियो। उद्योगमा २० जना कामदारले रोजगारी गर्दै आएका थिए। ओलागीमा परेको आनन्द उद्योगका सञ्चालक आनन्द साहले पनि सात करोड रुपैयाँबराबरकै क्षति भएको जानकारी दिए। उद्योगमा ७५ प्रतिशतभन्दा बढी क्षति भएको उनको भनाइ छ।
उद्योगका कतिपय भवन पूर्ण रूपमा क्षतिग्रस्त छन्। उत्पादन भएर बजार पठाउन तयारी अवस्थामा रहेको साढे तीन करोड रुपैयाँबराबरको समान पूर्ण रूपमा नष्ट भएको उनले जानकारी दिए। उद्योगले प्लास्टिकका गिलास, प्लेट, चम्चा र दही राख्ने टब्बा उत्पादन गर्दै आएको थियो।
यो खबर आजको अन्नपूर्णपोष्टमा छ ।