३० कात्तिक , गुल्मी – नेकपा (एमाले)का केन्द्रीय सचिव एवं गुल्मी क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार गोकर्ण विष्टले मुलुकलाई गरिबीको रेखाबाट माथि उठाउन एउटा नयाँ अभियान जरुरी रहेको बताउनुभएको छ ।
बुधबार धुर्कोट गाउँपालिकामा चुनावीसभालाई सम्बोधन गर्दै देशमा विकासको अभियानलाई अगाडि बढाउन वाम गठबन्धन भएको समेत उहाँले बताउनुभयो ।
अहिले निर्वाचनका लागि गठबन्धन भएको र त्यसपछि पार्टी एकता हुने भन्दै उहाँले चुनावपछिको सरकारले मुलुकको विकास निर्माणलाई अभियानका रुपमा अघि बढाउने बताउनुभयो ।
उहाँले विगतका चुनावमा काँग्रेसले पटकपटक बहुमत ल्याए पनि मुलुकको विकास अगाडि बढ्न नसकेको भन्दै अब निर्वाचनपछि बन्ने वामपन्थीको स्थायी सरकारले मुलुकलाई विकासको अभियानमा लैजाने दाबी गर्नुभयो ।
“अब पनि देशलाई अविकसित रहिरहन दिन सकिँदैन,” उहाँले भन्नुभयो “यसैले यसपटकको चुनावमा एमाले र माओवादी केन्द्र एक भएकाले दुई तिहाइभन्दा बढी बहुमत ल्याउँछ ।” उहाँले चुनावपछिको सरकारले मुलुकलाई मुलुक नयाँ दिशामा अगाडि बढाउँदै पाँच वर्ष स्थायी सरकार चलाउने स्पष्ट पार्नुभयो ।
नेता विष्टले जिल्लाको विकास निर्माणमा आफू सधैँ गुल्मेली जनताको साथमा रहेकाले पनि जनताले धेरै माया गरे निर्वाचनमा अत्यधिक मतदानले विजयी बनाउने आशा गरेको बताउनुभयो ।
उक्त कार्यक्रममा प्रदेशसभा सदस्य माओवादी पोलिटब्यूरो सदस्य दिनेश पन्थीले आर्थिक समृद्धिसहितको मुलुक निर्माणका लागि वाम एकता भएर चुनावी मैदानमा आएको बताउनुभयो । उहाँले मुलुकमा रहेको गरिबी, अशिक्षा, बेरोजगारी लगायतका समस्या निर्वाचनपछि बन्ने सरकारले न्यूनीकरण गर्ने पनि बताउनुभयो ।
रासस