३० कात्तिक , चितवन – वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले आगामी मंसिर १० र २१ गते हुने निर्वाचन जनमतसंग्रहसमेत भएको बताउनुभएको छ ।
आज पश्चिम चितवनको गीतानगरमा नेपाल भूपू सैनिक संघ चितवनले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशलाई लोकतान्त्रिक बाटोमा लैजाने कि साम्यवादी बाटोमा लैजाने भन्ने फैसला यो निर्वाचनले गर्ने बताउनुभयो ।
चितवन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका मन्त्री पाण्डेले संविधानको रक्षा गर्न चुनौतीपूर्ण रहेको बताउँदै यो निर्वाचन लोकतन्त्रवादी आम जनसमुदायको परीक्षा समेत भएको धारणा व्यक्त गर्नुभयो ।
राप्रपा (प्रजातान्त्रि)का उपाध्यक्षसमेत रहनुभएका मन्त्री पाण्डे चितवन क्षेत्र नं. ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग प्रतिस्पर्धामा हुनुहुन्छ ।
रासस