३० कात्तिक , इलाम – नेकपा(एमाले) का नेता सुवास नेम्वाङले सिद्धान्त र विचार मिल्ने पार्टीबीच गठबन्धन हुनु कुनै अनौठो विषय नभएको बताउनुभएको छ ।
माङ्सेबुङ गाउँपालिका–६ मा आज आयोजित चुनावीसभामा इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेम्वाङले कम्युनिष्ट पार्टीहरु एकता गरेर अघि बढ्दा कसैले पनि त्यसमा चित्त दुखाउनुनपर्ने बताउनुभयो ।
पूर्वसभामुख नेम्वाङले सरकारले निर्वाचन आचारसंहिता लागू भएपछि जथाभावी मन्त्री नियुक्त गर्दै आचारसंहिताको धज्जी उडाएको आरोप लगाउनुभयो ।
देशमा स्थिरता कायम भएमा मात्र विकास निर्माण हुने बताउँदै उहाँले स्थिरता कायम गर्न र विकास निर्माणलाई समुचित ढंगले अघि बढाउन वाम गठबन्धनलाई विजयी गराउन मतदातासँग आग्रह गर्नुभयो । सोही कार्यक्रममा प्रदेशसभा २ (ख) का उम्मेदवार धीरेन्द्र शर्माले बढ्दो बेरोजगारी समस्या समाधान गर्दै देशलाई स्थिरता र समृद्धि दिने वाम गठबन्धनको मुख्य लक्ष्य रहेको बताउनुभयो ।
रासस