०१ मंसिर , काठमाडौँ – नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाणले बूढीगण्डकी आयोजना यथावत् रहेको बताउनुभएको छ ।
काँग्रेसको केन्द्रीय मिडिया सेन्टर सानेपामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो –“बूढीगण्डकी आयोजनाको ठेक्का मात्र रद्द गरिएको छ, आयोजना भने यथावत् छ । ”संयोजक खाणले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजिनामा दिइसकेपछि हतारमा गरिएको सो निर्णयका बारेमा व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समिति र अर्थ समितिको संयुक्त बैठकले समझदारी खारेज गर्ने निर्देशन दिएकाले वर्तमान सरकारले त्यसको पालना गरेको स्पष्ट पार्नुभयो ।
उहाँले संसदीय समितिको निर्देशनपछि सरकारले आवश्यक अध्ययन, छलफल र कागजातको छानबिनसमेत गरेर सो निर्णय लिएको बताउनुभयो ।“अर्बौंको परियोजना प्रक्रिया मिचेर दिइएको रहेछ”– नेता खाणले भन्नुभयो, “प्रतिस्पर्धा गर्दा लागत कम हुनसक्ने अवस्था पनि आउछ, सरकारले निर्णय गर्ने वित्तिकै विपक्षी गठबन्धनका नेताहरुले हतारहतार पत्रकार सम्मेलन गर्नुले पनि यसमा अवाञ्छनीय खेल भएको हाम्रो आशंकालाई पुष्टि गरेको छ । ”
उहाँले काँग्रेस समृद्धिको अभियानमा लागेको र जलस्रोतलगायत अन्य पूर्वाधार विकास गर्दा जग्गा अधिकरण र मुआब्जा वितरणमा पीडितको मागलाई ध्यान दिन आग्रह गरेको पनि बताउनुभयो ।फरक प्रसंगमा नेता खाणले नयाँ संविधान जारी भएपछि राजनीतिक क्रान्तिको अभियान पूरा भएकाले अब काँग्रेस आर्थिक क्रान्तिको अभियानमा लागेको बताउँदै काँग्रेसले मात्रै देशलाई समृद्धिको मार्गमा लैजानसक्ने स्पष्ट पार्नुभयो ।
आगामी १० वर्षमा देशलाई समुन्नतिको शिखरमा पु¥याउने कार्यक्रम काँग्रेससँग मात्र भएको दाबी गर्दै उहाँले विगतमा नेकपा (एमाले)बाट संविधानसभामा प्रतिनिधित्व गरिसक्नुभएका प्रसिद्ध उद्योगी विनोद चौधरी पार्टी र कार्यकर्तामुखी आर्थिक नीतिले मुलुककोे आर्थिक विकास नहुने निष्कर्षमा पुगेर काँग्रेस प्रवेश गर्नुभएको जानकारी दिनुभयो ।
नेता खाणले काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वबाट थाल्नुभएको प्रचार अभियान सुदूरपश्चिम पुगिसकेको र काँंग्रेसले सबै प्रदेशमा मिडिया सेन्टर स्थापना गरेको बताउँदै यसले निर्वाचनमा नयाँ उत्साह र रौनक ल्याएको उल्लेख गर्नुभयो ।
रासस