०१ मंसिर , सुर्खेत – नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका लागि सुर्खेत क्षेत्र नं १ का उम्मेदवार पूर्णबहादुर खड्काले नेपाली काँग्रेसको नेतृत्वमा जारी भएको संविधान कार्यान्वयन गर्न अब जनताले काँग्रेसलाइ मत दिएर सरकारमा पु¥याउनुपर्ने बताउनुभएको छ ।
स्थानीय रझेनामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नेता खड्काले जनताले चाहेको लोकतन्त्रको संस्थागत विकास काँग्रेसले नै गर्न सक्ने जिकिर गर्नुभयो ।
राणा, पञ्चायत र राजालाई समेत ढालेको काँग्रेसले मात्रै नेपाली जनताको समृद्धि र विकास गर्न सक्ने बताउँदै पूर्वगृहमन्त्री खड्काले संविधानको कार्यान्वयनसँगै तीव्र गतिको विकास निर्माण र जनताको आर्थिक समृद्धिका लागि पनि काँग्रेसको सरकार अपरिहार्य छ भन्नुभयो ।
सोही सभामा प्रदेशसभाका लागि क्षेत्र नं १ (ख) मा काँग्रेस उम्मेदवार झकबहादुर डाँगीले अबको विकासलाई तीव्रता दिनका लागि काँग्रेसकै नेतृत्व आवश्यक रहेको बताउनुभयो । काँग्रेस नेता ललितमान खत्रीको अध्यक्षतामा भएको सभामा चिङ्गाड गाउँपालिकाका अध्यक्ष देवबहादुर चन्द र काँग्रेस क्षेत्र नं २ का सभापति नारायण कोइरालाले काँग्रेसलाई जिताउन मतदातासँग आग्रह गर्नुभएको थियो ।
रासस