०२ मंसिर ,काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवार र निर्वाचन प्रचारप्रसारमा हिँडिरहेका नेतालाई लक्षित गरी मुलुकका विभिन्न भागमा भएका हिंसात्मक घटनाप्रति सरकारको गम्भीरता नदेखिएको बताउनुभएको छ ।
विभिन्न सञ्चारमाध्यममा कार्यरत वरिष्ठ पत्रकारहरूसँग शुक्रबार साँझ राजधानीमा अन्तरक्रियात्मक छलफल गर्दै पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रा कार्यक्रम र हाम्रा नेताहरूलाई ताकेर बम प्रहार भइरहेका छन् तर यसमा सरकार किञ्चित गम्भीर छैन ।” अध्यक्ष ओलीले हिंसात्मक घटना रोक्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताउँदै यस्ता घटनामा जोसुकै संलग्न भए पनि उनीहरूलाई नेपाली समाजले कदापि नस्वीकार्ने हुँदा यस्ता गतिविधि तत्काल रोक्न आग्रह गर्नुभयो ।
एमाले अध्यक्ष ओलीले सरकार आफ्ना लागि मात्र संवेदनशील रहेको आरोप लगाउनुभयो ।
निर्वाचन शान्तिपूर्ण सम्पन्न गराउने काममा केन्द्रित हुनुपर्ने कामचलाउ सरकारले त्यस काममा भन्दा अन्यत्र ध्यान दिएको र अहिले गर्नै नपर्ने दीर्घकालीन महत्व र प्रभावका काम गरिरहेकोमा आपत्ति प्रकट गर्नुभयो ।
यो खबर आजको गोरखापत्रमा छ ।