०३ मंसिर , भक्तपुर – आगामी मङ्सिर २१ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फ भक्तपुर क्षेत्र नं २ बाट प्रतिस्पर्धामा उत्रिएका नेताहरूका कारण यो क्षेत्र चर्चामा आएको छ ।
पूर्वसभामुख, पूर्वमन्त्री र पूर्वसांसदबीच त्रिपक्षीय प्रतिस्पर्धा रहेको यस क्षेत्रमा तीनै उम्मेदवारले फरक फरक कार्यसूची लिएर मतदातासँग मत मागिरहेका छन् । यस क्षेत्रमा यसअघि नेपाल मजदुर किसान पार्टी र नेपाली काँग्रेसले आलोपालो बाजी मार्दै आएका थिए ।
काँग्रेसबाट पूर्वसभामुख एवम् मानवअधिकारवादी दमननाथ ढुङ्गाना, एमालेका युवा नेता एवम् पूर्व उद्योगमन्त्री महेश बस्नेत र नेमकिपाबाट समानुपातिक सांसद भइसक्नुभएकी सुश्री अनुराधा थापा मगर चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
उम्मेदवारका कारण मात्र होइन पछिल्लो समयमा उम्मेदवारले ल्याएको कार्यसूचीका बारेमा समेत यस क्षेत्र मतदातामाझ चर्चामा पुगेको छ । छयहत्तर वर्षीय ढुङ्गानाले मतदातामाझ आफूलाई कुचीकार उम्मेदवारका रूपमा उभ्याउनुभएको छ । उहाँ राजनीतिमा साह्रै फोहोर बढेकाले त्यसलाई सफा गर्न राजनीतिक कुचो लिएर आफू आएको बताउनुहुन्छ ।
ढुङ्गाना भन्नुहुन्छ, “देश विकास गर्न पहिला राजनीतिमा बढेको फोहोरी खेलको सफाइ गर्नुपर्छ, मेरो उम्मेदवारी त्यही राजनीति सफाइ गर्न कुचो बोकेर आएको कुचीकारका रूपमा बुझ्नुस्, म पहिला राजनीति सफाइ गर्छु, अनि विकास ।’
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा भारतले नाकाबन्दी नै नगरे पनि नाकाबन्दी ग¥यो भनेर गलत हल्ला गरी राष्ट्रवादको गलत नारा लगाएको टिप्पणी गर्दै उहाँले देशलाई गलत बाटाबाट जान रोक्न विशेष परिस्थितिमा आफू भक्तपुरमा उम्मेदवार भएर आएको बताउनुभयो ।
यता एमालेका उम्मेदवार ४३ वर्षीय बस्नेत भने आफ्नो उम्मेदवार भक्तपुरको विकासका लागि भएको बताउनुहुन्छ । यसअघिको संविधानसभाको निर्वाचनमा काँग्रेससँग पराजित बस्नेतले आफूले अधिकांश समय भक्तपुरको विकासमा चासो दिएर अग्रसर भएको बताउँदै अबको पाँच वर्षमा जिल्लालाई चौतर्फी विकास गरिने दृढता व्यक्त गर्नुभयो ।
वर्षांैदेखि विकासमा पछि परेको भक्तपुरलाई धार्मिक पर्यटकीय क्षेत्र बनाइने, गाउँगाउँमा सडक, खानेपानी, सञ्चार, स्वास्थ्य संस्था पु¥याइने, आधुनिक सुविधासम्पन्न सहरको विकास गर्ने उहाँको कार्यसूची छ ।
बस्नेत भन्नुहुन्छ, “मैले भूकम्पमा घर भत्किएका छ हजारभन्दा बढी पीडितलाई लत्ताकपडा, खाद्यान्न, नगददेखि जस्ताको टहरा बनाइदिएर सहयोग गरेँ, पार्टी अध्यक्ष ओली प्रधानमन्त्री हुँदा र म उद्योगमन्त्री हुँदा भक्तपुरमा रु. पाँच अर्बको बजेट ल्याएर विकासका काम सु«पवात गरेँ, अबको पाँच वर्षमा भक्तपुरलाई विकासबाट सम्पन्न जिल्ला बनाउने मेरो एजेन्डा छ ।”
प्रतिस्पर्धामै रहनुभएकी नेमकिपाकी उम्मेदवार ३६ वर्षीया मगरको पनि फरक कार्यसूची छ । उहाँसँग राजनीतिक सफाइ र विकासका कार्यसूचीभन्दा पनि सिद्धान्तका कार्यसूची बढी छन् । देशमा समाजवादले ल्याउने परिवर्तन र पूँजीवादले ल्याउने संकट, धनी र गरिबबीचको बढ्दो खाडल र वैदेशिक हस्तक्षेपवि«पद्ध चाल्नु पर्ने कदमका कार्यसूची लिएर उहाँ मतदातामाझ पुग्नुभएको छ ।
उहाँ देशमा भ्रष्टाचारी, देशद्रोही, बलात्कारीजस्ता अपराधीलाई फाँसीको कानुन ल्याउनुपर्ने बताउनुहुन्छ । त्रिपक्षीय प्रतिस्पर्धा रहेको यस क्षेत्रमा यस पटकको निर्वाचनमा ढुङ्गाना, बस्नेत वा मगर कसले बाजी मार्ला भन्ने चासो र चर्चा चौतर्फी बढेको छ ।
यो खबर आजको गोरखापत्रमा छ ।