०६ मंसिर , उर्लाबारी, मोरङ – आसन्न निर्वाचन विरुद्ध गतिविधि गरेको अभियोगमा विभिन्न स्थानबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापा नेतृत्वको टोलीले सो पार्टीका मोरङ इञ्चार्ज पुस्कर श्रेष्ठसहित नेता कार्यकर्तालाई पक्राउ गरेको हो ।
त्यस्तै पार्टीका क्षेत्रीय इञ्चार्ज डिल्ली नेपाली, कार्यकर्ताहरु जगत मगर, प्र्रकाश घिमिरे र गोविन्द कार्कीलाई पक्राउ गरेको प्रहरी निरीक्षक थापाले राससलाई जानकारी दिनुभयो ।
उहाँकाअनुसार निर्वाचनका विरुद्धमा भित्ते लेखन गर्ने, मतदाता भड्काउने र तर्साउने लगायत गतिविधिमा संलग्न हुन थालेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका विरुद्धमा सार्वजनिक अपराध ऐन अन्तर्गतको मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
रासस