०७ मंसिर , बनेपा – चुनावमा प्रतिस्पर्धी उम्मेदवार र दलबीच आरोप/प्रत्यारोप र घोचपेचका दोहोरी चल्छन् तर काभ्रेका वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भने साझा एजेन्डा बनाएर मतदातामाझ पुगेका छन् । दुवै गठबन्धनका साझा एजेन्डा हो, काभ्रेलाई प्रदेश राजधानी बनाउनु ।
जिल्ला प्र्रदेश ३ को सम्भावित राजधानी बन्ने सर्वत्र चर्चा हुन थालेपछि दलहरूले साझा एजेन्डा बनाएर मतदाता आकर्षित गर्न थालेका छन । उनीहरूको मत जलविद्युत्, कृषि, पर्यटन, यातायात र अन्य विकासका एजेन्डामा मिलेको छ । प्रतिनिधिसभा क्षेत्र १ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका गंगाबहादुर दोङ ‘बमध्वज’ र कांग्रेसका उम्मेदवार तीर्थ लामा दुवैले जिल्लालाई प्रदेश राजधानी बनाउन पहल गर्ने बताएका छन् । बमध्वज स्थानीय तह चुनावमा तेमाल गाउँपालिकाको अध्यक्षमा पराजित भएका थिए भने लामा निवर्तमान सांसद हुन् । यस क्षेत्रमा एक लाख ३३ हजार सात सय ५५ मतदाता छन् ।
प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा वाम गठबन्धनबाट एमालेका गोकुल बाँस्कोटा र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका मधु आचार्यबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । उनीहरूको प्राथमिकतामा पनि प्रदेश राजधानी परेको छ । स्थानीय तहमा वाम गठबन्धनले पाएको मत र एमालेको संस्थागत मतबाट आफ्नो जित सुनिश्चित ठान्छन्, बाँस्कोटा । भन्छन्, ‘काभ्रेलाई प्रदेश राजधानी बनाउने मेरो प्रमुख एजेन्डा जनतासँग प्रत्यक्ष सरोकार राख्ने भएकाले मेरो जित सुनिश्चित छ ।’ यसबाहेक उनले जिल्लाको विकासका लागि कोसी र इन्द्रावती नदीमा विद्युत् र सिँचाइ, पाँचखाल, पनौती, नाला, खोपासी र मण्डन भेगमा आधुनिक कृषि प्रणालीको विकास गर्ने र जिल्लालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने रहेको छ । कांग्रेसका आचार्य पनि आफ्नै जित हुने दाबी गरिरहेका छन् । उनले भने, ‘राप्रपा र तत्कालीन फोरमको मत र गठबन्धनभित्रका असन्तुष्टको मतबाट चुनाव जित्छु ।’ यस क्षेत्रमा एक लाख ३८ हजार पाँच सय १२ मतदाता छन्।
क्षेत्र १ ‘क’ प्रदेशसभामा कांग्रेसबाट चन्द्रबहादुर तामाङ, र वाम गठबन्धनबाट माओवादी केन्द्रका रत्न ढकाल प्रतिस्पर्धामा छन् । प्रदेश २ मा कांग्रेसबाट गुन्डा नाइके गणेश लामा र वाम गठबन्धनबाट एमालेका सीबी लामा चुनावी मैदानमा छन् । दुवै निर्माण व्यवसायी हुन् । ०७० को निर्वाचनमा फोरम लोकतान्त्रिकबाट उम्मेदवार बनेका गणेश पार्टी एकीकरणपछि कांग्रेसबाट उम्मेदवार बनेकाले जित्ने दाबी गरिरहेका छन् ।
क्षेत्र २ को ‘क’ प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवार एमालेका लक्ष्मण सापकोटा र कांग्रेसका सुन्दरमणि आर्चायबीच प्रतिस्पर्धा छ । क्षेत्र २ ‘ख’ मा वाम गठबन्धनबाट एमालेका बसुन्धरा हुमागाईं र कांग्रेसका कञ्चनचन्द्र वादे उम्मेदवार छन् । हुमागाईं पूर्वगाविस अध्यक्ष हुने भने वादे पूर्वराज्यमन्त्री । स्थानीय तह निर्वाचनको मतका आधारमा यहाँ वाम गठबन्धन बलियो छ । ०४८ र ०५१ सालको निर्वाचनमा वामपन्थी किल्लाका रूपमा चिनिएको काभ्रेमा ०५६ मा पहिलोपटक कांग्रेसले दुई क्षेत्र जितेको थियो । ०६४ सालको संविधानसभा निर्वाचनमा भने माओवादीले सबै क्षेत्र जित्यो । त्यस्तै ०७० सालमा कांग्रेस र एमालेले दुई–दुई क्षेत्र जितेका थिए । जिल्लाका १३ स्थानीय तहमध्ये एमालेले ५ नगरपालिकासहित ७, कांग्रेसले ४ र माओवादी केन्द्रले २ वटामा जितेका थिए।
प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा दुई लाख ७२ हजार दुई सय ८७ मतदाता छन् । स्थानीय तहको निर्वाचनभन्दा ४१ हजार चार सय ३८ मतदाता थप भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा प्रतिनिसिभाका दुई र प्रदेशसभाका चार क्षेत्र छन् । तीन सय ९० मतदानकेन्द्र र एक सय ८९ वटा मतदानस्थल रहका छन्।
यो खबर आजको अन्नपूर्णपोष्टमा छ ।