१४ मंसिर , वीरगन्ज – स्थानीय तहको निर्वाचनमा पर्साको सुखवा प्रसौनी गाउँपालिका १ मधुवन मथवलमा पाँच सय भोट आफूसँग रहेको भन्दै स्थानीय एक अगुवाले गाउँपालिका प्रमुखमा चुनाव लडेक एक उम्मेदवारसँग ३६ लाख रुपैयाँ लिए।
‘पैसा लिएका अगुवाले आफूसंग रहेको भोट सबै तिनै उम्मेदवारलाई हाल्न पनि लगाए, नाम गोप्य राख्ने शर्तमा पैसा दिने उम्मेदवार निकटका एक युवकले भने ,‘अहिले सांसद र विधायकको चुनावमा फेरि तीनै अगुवाले पाँच सय भोटका लागि ५० लाखको बार्गेनिङ गरिरहेका छन्, कुरा चलिरहेको छ, फाइनल चाहिँ भएको छैन।’
आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिदै गर्दा दल र उम्मेदवारको चुनावी प्रसार जोडतोडका साथ चलिरहेको छ। घरदैलो, रात्रिसभा, कोणसभा, पार्टी प्रवेश जस्ता कार्यक्रममा दलका नेता र उम्मेदवार बिहानैदेखि रातिसम्म व्यस्त छन्।
यो सँगै उम्मेदवारका निवास र चुनावी सम्पर्क कार्यालयमा पनि नेता, कार्यकर्ता, समर्थकका साथै चुनावी खर्च लिनेको भिडभाड पनि उत्तिक्कै देखिन्छ। भोटका लागि गाउँ ठाउँको विकास भन्दा पनि मतदाताले उम्मेदवारसँग भोटका लागि हाकाहाकी रकमको मोलतोल गर्न थालेका छन्।
दल र उम्मेदवारे आफना चुनावी घोषणापत्र र अपिलमार्फत् मतदाताको घरदैलोमा पुगेर दिनहु बाडदै आए पनि मतदाताले ती घोषणापत्र र प्रतिबद्धतापत्र पढ्नमा खासै चासो दिएका छैनन्।
स्थानीय तहको निर्वाचन यता मतदाता, दल र उम्मेदवारको चुनावी घोषणापत्र भन्दा पनि उम्मेदवारको आर्थिक हैसियतमा ध्यान दिन थालेका छन्।
‘चुनावी घोषणापत्र त नेताको चुनाव जित्ने ललिपप मात्रै हो, वीरगन्ज ९ का सन्नी महत्तो भन्छन्, ‘हरेक चुनावमा नेताले ठूलठूला कुरा लेखेर चुनावी घोषणापत्र बाँड्छन्। तर, जितेर गएपछि ति सबै कुरा बिर्सिन्छन्, त्यसैले त्यस्तो घोषणापत्र पढ्ने फुर्सद छैन, पढेर फाइदा पनि केही छैन, जस्ले पैसा दिन्छ भोट त्यही नेतालाई हालिन्छ।’
विगतमा एक राजनीतिक दलको जिल्ला स्तरमा मात्र नभइ केन्द्रीय सदस्य समेतको जिम्मेवारीमा रहेका वीरगन्ज १५ भिस्वाका एक नेता भन्छन्, ‘मेरो परिवार र अफन्तकोमा गरी मसँग २५ वटा जति भोट छ , जुन नेताले प्रति भोट पाँच हजारका दरले रकम दिन्छ सबै भोट त्यही नेतालाई जान्छ।’
चुनावी घरदैलोमा मत माग्न आइरहेका उम्मेदवारसँग आफूले प्रति भोट ५ हजारको दरले प्रस्ताव राखिसकेको भन्दै उनी भन्छन्, ‘दुई तीन जनासँग बार्गेनिङ चलिरहेको छ, एक दुई दिनमा टुंगो लाग्छ होला !’
पर्साको धोबीनी गाउँपालिको लंगडीका सुरेश साह भन्छन्, ‘अब घोषणापत्र देखाएर भोट माग्ने दिन गइसक्यो, जसले पैसा धेरै खर्च गर्छ भोट पनि उसले नै पाउछ, त्यसैले त फेसबुकमा एउटा नारा नै चलेको छ, ‘खा नोच के आ भोट द सोेच के।’
पर्सा क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाल संघीय समाजवादी पार्टीका तर्फबाट उम्मेदवारी दिएका राजकुमार यादव मतदाताले पैसाको प्रस्ताव गरेको स्वीकार गर्छन्।
गाउँमा आफूलाई भोटको ठेकेदार ठान्नेले म सँग यति भोट छ कति रुपैयाँ दिन्छौ भनेर उम्मेदवारसँग खुलेआम बार्गेनिङ गर्न थालेका छन्’, यादव भन्छन्, ‘खासगरी पैसावाला र धनाढ्य उम्मेदवारसँग यस्तो बार्गेनिङ भइरहेको छ, तर म त गरिबको छोरा हुँ मेरो सामू अहिलेसम्म कसैले पनि यस्तो प्रस्ताव गरेको छैन।’
पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्यमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार प्रदीप यादव भने निष्ठावान र राजनीतिक पृष्ठभूमी भन्दा पनि पैसाको बलमा टिकट लिएर चुनाव लडेका उम्मेदवारसँग मात्रै भोटको दलाली गर्नेले मोलतोल गरिरहेको बताउछन्।
स्थानीय तहको निर्वाचनमा वडा स्तरमा पराजित भएका उम्मेदवारलाई उनीहरुले चुनावमा लागेको खर्च लिएर अबको चुनावमा आफूलाई सघाउन भनेर धनाढ्य उम्मेदवारले प्रस्ताव गरिरहेको खबर पनि आफूले पाएको यादवको भनाइ छ।
नागरिक समाजका अगुवा प्राध्यापक डाक्टर दीपक शाक्य पनि दल र उम्मेदवारको नीति, सिद्धान्त र चुनावी एजेण्डा भन्दा पनि मतदातामा पैसामा हाबी भएको बताउँछन्। पहिले पहिले जातीयताका आधारमा भोट यता उता हुन्थ्यो, तर अहिले आएर पैसाको लेनदेनमा भोटको चलखेल हुन थालको छ,’ शाक्य भन्छन्, ‘सोझासाझा मतदाता भन्दा पनि भोटको दलाली गर्ने ठेकेदार अहिले धेरै सक्रिय भएका छन्, उनीहरुले मसँग यति भोट छ कति पैसा दिन्छौँ भनेर उम्मेदवारसँग सिधै रकमको बार्गनिङ गरिरहेका छन्।
टिकट वितरणका क्रममा राजनीतिक नेतृत्वले इमान्दार भन्दा पनि धनाढ्यलाई उम्मेदवार बनाएका कारण भोटको दलाली र खरिदबिक्री गर्ने प्रवृति बढेको शाक्य बताउँछन्। पैसाकै बलमा टिकट खरिद गरेर आएका उम्मेदवारसँग पैसा लिएर भोट दिँदा कुनै पाप लाग्दैन भन्ने एकथरी सोच मतदातामा पनि पलाएको छ, शाक्य भन्छन्, ‘चुनावमा पैसा हाबी हुनु भनेको लोकतन्त्रका लागि सबै भन्दा बढी खतरा हो।’
यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।