१७ मंसिर , चितवन – नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले लोकतन्त्रको रक्षाका लागि लोकतान्त्रिक गठबन्धन बनाउनुपरेको बताएका छन् । यहाँ आज आयोजित ‘आसन्न निर्वाचनमा लोकतन्त्रवादी संस्थाको भूमिका’ विषयक कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै कोइरालाले अहिले लोकतन्त्रको पक्षमा जनमत रहेको भन्दै साम्यवादले जितेमा जनताले बोल्न र लेख्न नपाउने बताए । उनले आगामी निर्वाचनले जनताको भाग्य रेखा कोर्ने बताउँदै दलगत एकतालाई सुदृढ गरेर अघि बढ्नुपर्ने बताए ।
वामपन्थी एक भएर चुनौती दिइरहेको बताउँदै उनले भने, “वामपन्थीले जितेमा संगठित हुने, लेख्ने, बोल्ने अधिकार गुम्छ, त्यसैले लोकतान्त्रिक गठबन्धनलाई जिताउनुपर्छ । सोही कार्यक्रममा वन तथा भू –संरक्षणमन्त्री विक्रम पाण्डेले लोकतान्त्रिक शक्तिले जनताका पक्षमा काम गर्ने बताए । विकास र लोकतन्त्र पर्यावाची शब्द भएको उनको भनाइ थियो ।
अन्तक्र्रिया कार्यक्रममा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले निर्वाचनको समयमा संघ संगठनले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउँदै जनताको भावना बुझेर काम गर्ने संस्थाले निर्वाचनमा लाग्न उनले आग्रह गरे ।
कार्यक्रममा राजनीतिक विश्लेषक रमेश ढुंगेलले वाम गठबन्धनका गतिविधिले सर्वसत्तावादी गतिविधि देखिएको बताए । यसले लोकतन्त्रको रक्षाभन्दा पनि व्यक्तिगत स्वार्थमा लागेको पाइएको उनको भनाइ थियो ।
मनमोहन भट्टराईले जनताको बलमा आएको लोकतन्त्र र संघीयता लागू हुने बताउँदै मान्छे मारेर संघीयता लागू नहुने विचार राखे । प्रजातन्त्रवादी प्राध्यापक संघ चितवन, नेपाल शिक्षक संघ चितवन, बिपी चिन्तन प्रतिष्ठान, नेशनल कोअपरेटिभ एलाइन्स, प्रजातान्त्रिक विचार समाज, लोकतान्त्रिक गैरसरकारी संस्थाले संयुक्तरुपमा कार्यक्रमको आयोजना गरेका थिए ।
रासस