२१ मंसिर , काठमाडौँ – आयोगले ४ दिनभित्र प्रदेश सभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक गरिसक्ने तयारी गरेको छ ।
प्रत्यक्षतर्फको मतगणना आज साँझ ५ बजेबाट सुरु हुनेछ । आयोगले गणना सुरु भएको ४ दिनभित्र मतगणना सम्पन्न गर्ने गरी मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।
प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएपछि समानुपातिकको मतगणना सुुरु हुनेछ । आयोगका अनुसार प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको ४ दिनभित्र समानुपातिको मतपरिणाम आइसक्नेछ ।
आयोगको निर्देशिकाअनुसार सम्भव भए प्रत्यक्ष र समानुपातिकको मतगणना सँगसँगै गर्न पनि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई भनिएको छ ।
तर, त्यसरी मतगणना गर्दा प्रत्यक्षतर्फ प्रदेश र प्रतिनिधिसभाका दुईवटा र समानुपातिकतर्फका दुईवटा गरी ४ वटा समूह बनाउनुपर्ने हुन्छ । मतगणनास्थल र जनशक्तिअनुसार दल र निर्वाचन अधिकृतबीचको सहमतिअनुसार कुन पहिला गणना गर्ने भन्ने निर्धारण गर्न पनि सक्नेछन् ।
तर, सामान्यतः पहिलो प्रतिनिधिसभाको प्रत्यक्ष, त्यसपछि प्रदेशको प्रत्यक्षको गणना हुने सम्भावना छ । यी दुवै गणना सकिएपछि मात्रै समानुपातिकतर्फको मतगणना सुरु हुनेछ ।
यो खबर आजको नयाँ पत्रिकामा छ ।