२१ मंसिर , काठमाडौँ – ऐतिहासिक संविधानसभाबाट सिर्जित प्रदेश सभाको पहिलो निर्वाचनसहित प्रतिनिधिसभाको निर्वाचन आज पूरा हुँदैप्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको मतदान आज बिहान ७ बजेबाट सुरु हुँदैछ । तराई र पहाडी ४५ जिल्लामा हुने मतदानबाट प्रतिनिधिसभाका १२८ र प्रदेश सभाका २५६ सांसद निर्वाचित हुनेछन् ।
दोस्रो चरणमा ४५ जिल्लाका १५ हजार ३४४ मतदान केन्द्रबाट १ करोड २२ लाख ३५ हजार ९९० मतदाताले मतदान गर्नेछन् । ती जिल्लाबाट प्रतिनिधिसभातर्फ प्रत्यक्षका लागि १२८ र प्रदेश सभातर्फ २५६ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।
मतदाताले ४ वटा मतपत्रमा मतदान गर्नुपर्नेछ । तर, उनीहरूले ४ वटा मतपत्र भएको ३ वटा पाना पाउनेछन् । मतदानका लागि लाइन बसेका मतदाताले सुरुमा हरियो रंगको प्रतिनिधिसभाको प्रत्यक्षतर्फको एउटा मतपत्र पाउनेछन् ।
उक्त मतपत्रमा छाप लगाएर मतपेटिकामा खसाएपछि कालो रंगको प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्र पाउनेछन्, तर उक्त मतपत्रमा छाप लगाएर मतपेटिकामा खसाएपछि रातो रंगको समानुपातिकतर्फको ठूलो आकारको मतपत्र पाउनेछन् ।
उक्त पाानामा माथिल्लो भागमा प्रतिनिधिसभा र तल्लो भागमा प्रदेश सभातर्फ आफूले रुचाएको दललाई दुई ठाउँमा मतदान गर्नुपर्नेछ ।
यो खबर आजको नयाँ पत्रिकामा छ ।