२१ मंसिर , काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दलगत आस्था र चुनाव चिन्हहरु फरक भए पनि लोकतन्त्रका हकमा कोही पक्ष वा प्रतिपक्ष नरहेको बताएका छन् । उनले विहिबार हुने दोस्रो चरणको प्रदेशसभा र प्रतिनिधिसभाको सम्मुखमा अपिल जारी गरी सो कुरा बताएका हुन् ।
प्रचण्डले जिम्मेवार निकाय शान्तिसुरक्षाको पूर्ण प्रत्याभूतिसहित निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा शतप्रतिशत प्रतिवद्ध रहने पनि विश्वास लिएका छन् । उनको अपिलमा भनिएको छ,‘दलगत आस्था र चुनाव चिन्हहरु फरक भए पनि लोकतन्त्रका हकमा हामी कोही पक्ष वा प्रतिपक्ष छैनौं । लोकतन्त्र, अधिकार मात्र होइन, कर्तव्य पनि हो र निर्वाचन लोकतन्त्रको सबैभन्दा भव्य महोत्सव हो । यो महोत्सवलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न म समस्त देशवासीमा हार्दिक अपिल गर्दछु ।
प्रचण्डको अपिल यस्तो छ :
अपिल
आज मंसिर २१ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान घोषणा भएपछिको प्रदेश र प्रतिनिधिसभाको ऐतिहासिक निर्वाचनको दोस्रो चरणको मतदान हुँदैछ ।
पैंतालीस जिल्लाका एक करोड बाइस लाख पैंतीस हजार मतदाताले एक सय अठ्ठाइस केन्द्रीय र दुई सय छपन्न प्रान्तीय सांसद चुन्ने यो निर्वाचनको ठुलो ऐतिहासिक महत्व छ । यो अवसरमा सबै जिम्मेवार निकाय शान्तिसुरक्षाको पूर्ण प्रत्याभूतिसहित निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा शतप्रतिशत प्रतिवद्ध रहने मेरो विश्वास छ । यसमा अन्तर्राष्ट्रिय क्षेत्रको पनि सहयोग र सद्भावको अपेक्षा गर्दछु । निर्वाचनपछि समृद्द नेपाल निर्माणको नयाँ अध्याय सुरु हुनेमा म विश्वस्त छु ।
दलगत आस्था र चुनाव चिन्हहरु फरक भए पनि लोकतन्त्रका हकमा हामी कोही पक्ष वा प्रतिपक्ष छैनौं । लोकतन्त्र, अधिकार मात्र होइन, कर्तव्य पनि हो र निर्वाचन लोकतन्त्रको सबैभन्दा भव्य महोत्सव हो । यो महोत्सवलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न म समस्त देशवासीमा हार्दिक अपिल गर्दछु ।
……..
प्रचण्ड
यो खबर आजको नयाँ पत्रिकामा छ ।