२२ मंसिर , रत्ननगर, चितवन – चितवनको रत्ननगरमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ३१६६ नंको बसले सोही दिशातर्फ जाँदै गरेको ना ४० प ९९१० नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुईजनाको मृत्यु भएको हो ।
गए राति करिव ११ बजेको समयमा रत्ननगरको टिकौलीस्थित पेट्रोल पम्पअगाडि भएको उक्त दुर्घटनामा परी मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ का करिब २६ वर्षीय शंकर भण्डारी रहेको प्रहरीले जनाएको छ ।
अर्का एकजनाको भने सनाखत हुन सकेको छैन । उनीहरुको राति नै उपचारका लागि चितवन मेडिकल कलेज लगिएकामा तत्कालै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । शव अहिले चितवन मेडिकल कलेजमै राखिएको छ । बस र त्यसका चालक भने इलाका प्रहरी कार्यालय, रत्ननगरको नियन्त्रणमा रहेको जनाइएको छ ।
दुर्घटनामा एकको मृत्यु, चार घाइते
त्यस्तै बेसीशहर, लमजुङ सदरमुकाम बेसीशहरमा बिहीबार साँझ भएको माइक्रोबस दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।
काठमाडौँबाट बेसीशहर आउँदै गरेको ग १ ख २४७६ नंको माइक्रोबस बेसीशहरबजारको पुरानो बैंकचोकमा दुर्घटना हुँदा क्वहोला सोथार–४, भुजुङकी श्रीकुमारी गुरुङको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएकी गुरुङलाई उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
दुर्घटनामा अन्य चारजना घाइते भएका छन् । घाइतेमध्ये चितवनकी ममता गुरुङलाई उपचारका लागि पोखरा लगिएको छ । अन्य घाइतेमध्ये रोशन गुरुङ, अञ्जली घले र दीक्षा घलेको सामुदायिक अस्पताल बेसीशहरमा उपचार भइरहेको छ ।
तीव्रगतिमा बेसीशहर बजारमा हुइँकिएको माइक्रोबसले बजारमा हिँडिरहेकालाई एक्कासि ठक्कर दिएको थियो । माइक्रो चालक दुर्घटनापछि फरार रहेको र निजको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिनुभयो ।
रासस