०५ पौष , काठमाडौँ – युवा संघ नेपाल र वाइसिएल नेपालले तत्काल पार्टी एकताको प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याउने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका हुन्।
अध्यक्ष दाहालको निवास लाजिम्पाटमा बधाई तथा धन्यवाद ज्ञापनका लागि पुगेका दुवै युवा संगठनको संयुक्त टोलीले राष्ट्रिय आवश्यकता र जनचाहनाका आधारमा निर्माण भएको वाम गठबन्धनले करिब करिब दुई तिहाइ स्थानमा विजय हासिल गरेकाले त्यसलाई सार्थक निष्कर्षमा पु¥याउनसमेत पार्टी एकतालाई टुंगो लगाउनुपर्नेमा जोड दिएको छ।
एकतामा नै बल हुन्छ भन्ने मान्यताका आधारमा नेकपा (एमाले) र माओवादी केन्द्रको संयुक्त गठबन्धनले निर्वाचनमा उल्लेख्य सफलता हासिल गरेको भन्दै युवा संगठनले राजनीतिक स्थिरता र आर्थिक समृद्धिको नेतृत्व लिनसमेत अध्यक्ष दाहाललाई आग्रह गरेका हुन् ।
नेपाली जनताले जनमतबाट वाम गठबन्धनलाई अनुमोदन गरेको भन्दै उनीहरुले एकताका लागि सार्थक संवाद गर्न र त्यसलाई निष्कर्षमा पु¥याउन अनुरोध गरेको वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए ।
युवा संगठनको बधाई ग्रहण गर्दै अध्यक्ष दाहालले वाम गठबन्धनलाई जनताले अनुमोदन गरेकाले त्यसलाई संस्थागत गर्ने र त्यसको प्रयास भइरहेको धारणा राखिए।
उनले भने , “वाम गठबन्धनका उम्मेदवारलाई जनताले दुई तिहाइ बहुमतको नजिक पु¥याएका छन् । गठबन्धनका लागि एमाले अध्यक्ष केपी ओली र मैले गरेको सार्थक प्रयास अनुमोदित भएको छ । हामी त्यसलाई शीघ्र निष्कर्षमा पु¥याउँछौँ ।”
जनताले दिएको अभिमत ऐतिहासिकरुपमा जनताको सम्पत्ति बनिसकेको चर्चा गर्दै उहाँले एकता प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन सबैको साथ र सहयोग जरुरी रहेको बताए ।
यो खबर आजको गोरखापत्रमा छ ।